कर्मचारीकै मिलेमतोमा हाइड्रोपावरमा चोरी, ७ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय लमजुङले क्ह्लोलासोथार गाउँपालिका-५ मा रहेको रुदीखोला जलविद्युत् आयोजना क्षेत्रबाट हेडरेस पाइप चोरी गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले वैशाख ९ गते १ बजे रुदीखोला जलविद्युत् आयोजना क्षेत्रबाट हेडरेस पाइप चोरी गर्न लागेको अवस्थामा सात जनालाई पक्राउ गरेको जनाएको हो ।
पक्राउ पर्नेमा भारत घर भई हाल पोखरा रत्नचोकस्थित कवाडीमा काम गर्ने ३३ वर्षीय नरेशकुमार साह, भारत घर भई पोखरास्थित कवाडीमा काम गर्ने २२ वर्षीय रुपेश साह, तनहुँ म्याग्दी नगरपालिका-४ बस्ने ३३ वर्षीय तारा गुरुङ, जिल्ला धादिङ सिद्धलेख गाउँपालिका ५ वस्ने ४८ वर्षीय मनोज भन्ने मंगले घले, जिल्ला तनहुँ भिमाद नगरपालिका २ वस्ने ३० वर्षीय मनोज थापा र जिल्ला म्याग्दी रघुगंगा गाउँपालिका ५ वस्ने २४ वर्षीय मनिष पुर्जासहित सात जना रहेका छन् ।
आयोजनाकै सवारी चालक ४६ वर्षीय आकाश भनिने दीलबहादुर घर्तीको संलग्नतामा चोरी भएको प्रहरीले जनाएको छ । घर्तीसहित घटनामा संलग्न रहेका भारत घर भई हाल पोखरा वस्ने ५० वर्षीय पन्नालाल साहलाई बुधबार पक्राउ गरी जिल्ला अदालत लमजुङबाट म्याद थप भई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
१४ वैशाख २०७९, बुधवार २२:४४ बजे प्रकाशित






























