पाँचदलीय गठबन्धन जति ठूलो भएपनि एमालेजति नपुग्ने ओलीको दाबी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकासका लागि एमालेलाई मतदान गर्न आग्रह गरेका छन् । सोमबार बझाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
एमाले प्रतिपक्षमा भए पनि जनताको आकर्षण भएको उनको दाबी छ । जनताको पार्टी भएकाले एमालेमा गोलबद्ध हुन उनले बझाङवासीलाई आग्रह गरे । आफ्नो पार्टी बालबालिकादेखि वृद्धवृद्धाको पक्षधर भएको ओलीले बताए । आफूहरू आधुनिक नेपाल निर्माणको अभियानमा लागेको उनले बताए ।
‘जब एमाले पहिलो पटक सरकारमा सहभागी भयो, आफ्नो गाउँ आफैँ बनाऊँ अभियान, सामाजिक सुरक्षा भत्ता वितरणलगायतका उत्कृष्ट कार्यक्रम ल्यायो,’ ओलीले भने । सेती नदीमा आएको बाढीले बझाङ र बैतडीमा अथाह क्षति गर्दा पनि वर्तमान सरकारले कुनै काम नगरेको उनले आरोप लगाए ।
एमालेले नेतृत्व गरेको समयमा मुलुकले उत्कृष्ट विकास गरेको उनको दाबी थियो । अहिलेको गठबन्धन सरकारले अर्थतन्त्र समाप्त गरेको उनले बताए । उनले अहिलेको गठबन्धनलाई पाँच भाइको खन्चुवा गठबन्धन भएको संज्ञा दिए । यस्तै पाँचदलीय गठबन्धन जति ठूलो भएको भनिए पनि एमालेजति नपुग्ने ओलीको दाबी थियो ।
२८ चैत २०७८, सोमवार १९:३२ बजे प्रकाशित













