कैलालीका पाँच स्थानीय तहमा आजदेखि टाइफाइड विरुद्धको खोप अभियान सुरु
कैलालीमा आजदेखि खोप अभियान सुरुभएको छ । धनगढी उपमहानगरपालिकासहित पाँच वटा स्थानीय तहमा आजदेखि टाइफाइड विरुद्धको खोप अभियान सुरु भएको हो ।
नेपाल सरकारले देशभरी आगामी २५ गतेदेखि खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको भए पनि कैलालीका पाँच स्थानीय तहमा आज बुधबारदेखि नै अभियानका रुपमा अघि बढाइएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।
स्वास्थ्य कार्यालय कैलालीका अनुसार बुधबारदेखि धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, जोशीपुर, बर्दगोरिया र जानकी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ। बाँकी आठ पालिकामा भने आगामी २५ गतेदेखि अभियान शुरु गरिने छ।
खोप अभियानका लागि नौ सय २४ खोप केन्द्र र एक हजार नौ सय ३३ खोप सेसन स्थापना गरिएका छन्। कैलालीमा विद्यालयमा रहेका दुई लाख आठ हजार आठ सय २८ तथा विद्यालय बाहिर रहेका ४० हजार दुई सय २० बालबालिका सबैलाई खोप प्रदान गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।
कैलालीमा दुई लाख ४९ हजार ४८ बालबालिकालाई टाइफाइड विरुद्धकोे खोप लगाउने लक्ष्य रहेको छ।
धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले टाइफाइड विरुद्धको खोप अभियानलाई लक्षित गरी मंगलबार अभिमुखीकरण कार्यक्रम गरेको छ। १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ।
टाइफाइड भनेको के हो ?
टाइफाइडलाई म्यादे ज्वरो ज्यानै जोखिममा पार्न सक्ने संक्रमक रोग हो। ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगका जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ। यो रोग सबै उमेर समूहको व्यक्तिहरूमा लागेको पाइएता पनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ।
यो रोगको लक्षण के के हुन् ?
उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने लगायतका समस्या हुन्छ। कसै कसैलाई पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, भोक नलाग्ने, शरीरमा रातो बिमिरा आउने आदी लक्षण र चिन्ह पनि देखिन सक्छ।
टाइफाइडबाट बच्न के गर्ने ?
टाइफाइडको रोगबाट बच्न सफा खानेपानीको व्यवस्था हुनुपर्छ । सरसफाइ र साबुन पानीले राम्रोसँग हातधुनेजस्ता कुराहरूमा ध्यान दिनु जरुरी हुन्छ । यदि कसैलाई टाइफाइड लागेको छ भने उसको सङ्क्रमण हटेको स्पष्ट रूपमा प्रमाणित नभइञ्जेलसम्म उसलाई अन्य मानिसको लागि खाना तयार पार्ने काम दिनु हुँदैन ।
२३ चैत २०७८, बुधवार ११:२० बजे प्रकाशित













