श्रीमती बेचेको झुटो मुद्दामा यसरी जेल परेका थिए बमबहादुर
कैलालीको गोदावरी -९ का बमबहादुर सार्की १५ जेठ २०६६ मा आफ्नी श्रीमतीसँग रोजगारीका लागि भारत हिँडेका थिए । बिवाह गरेको एक महिनापछि रोजगारीका लागि भारत पसेका बमबहादुरलाई गड्डाचौकी–वनवासा नाका पुगेपछि माइती नेपालका कर्मचारीले प्रहरीकोमा बुझायो ।
‘माइती नेपालका मान्छेले छोपेपछि उस (माया सार्की) लाई अलग, मलाई अलग राखे,’ बमबहादुर सम्झिन्छन्, ‘एकैछिन हो छुटिहाल्नुहुन्छ भनेर हामीलाई छोपे ।’ यो एकैछिन बमबहादुरका लागि डेढ वर्षपछि आयो ।
माइती नेपालको सक्रियतामा प्रहरीले बमबहादुरमाथि मानव बेचबिखनको मुद्दा चलाएपछि सार्की दम्पतीको जीवनको लय भताभुंग भयो । श्रीमती मायालाई बमबहादुरले झुक्याएर बेच्न लगेको जाहेरी मानव बेचबिखनविरुद्ध सक्रिय संस्था माइती नेपाल र प्रहरीको योजनामा तयार गर्न लगाइयो ।
‘माइती नेपालकी केटी र पुलिसले मलाई एउटा कागज दिए । यसमा सैन (हस्ताक्षर) ग¥यौ भने तिम्रो श्रीमान् तीन दिनमा छुट्छ नभए जेल जान्छ भने,’ सावाँ अक्षर पनि खुट्याउन नसक्ने माया १२ वर्ष पुरानो त्रासदी सम्झिन्छिन् ।
श्रीमान छुट्ने आशमा उनले उक्त कागजमा औँठाछाप लगाइन् । त्यसमा के लेखिएको छ भनेर मायालाई उनीहरूले सुनाएनन् । ‘लोग्ने छुट्छ भनेकाले मैले पनि सैन गरे,’ माया सुनाउँछिन् ।
मायाको यही कागजले श्रीमान्लाई मानव बेचबिखनको कसुरमा दुई पटक गरेर तीन वर्ष झ्यालखानामा बसाल्यो ।
हिरासतमा राखिएका बमबहादुरसँग पनि प्रहरीले कुनै सोधपुछ गरेन । मायाले श्रीमान्माथि त्यति ठूलो मुद्दा लाग्दैछ भन्ने कल्पनै गरिनन् । जब मुद्दा अदालतमा पुग्यो तब उनी खङ्ग्रङ्ग भइन् । आफ्नो लोग्नेलाई मानव बेचबिखनको मुद्दा लगाएको चाल पाएपछि मायाले अदालतमा भनिन्, ‘म ब्या गरेर जान लाग्या हुँ । मन पराएर विवाह ग¥या हुँ ।’
तर, उनको विलौना इजलासले सुनेन । बरु उल्टै न्यायाधीशले बमबहादुर थुनामुक्त हुन्छन् भन्दै कागजमा हस्ताक्षर गर्न लगाएको माया बताउँछिन् । ‘न्यायाधीशले पनि एउटा कागज दिएर मायाजी यसमा सैन गर्दिनु भने,’ माया भन्छिन्, ‘अब त मेरो बैकान (लोग्ने) छुट्लान् भनेर फेरि सैन गरे । तर, त्यसपछि त सिधै जेल पो पठाए ।’

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश भोजराज शर्माले मानव बेचबिखनको अपराध पुष्टि हुन नसके पनि बमबहादुरले मायाको यौन शोषण गरेको भन्दै डेढ वर्ष कैद सजायको फैसला सुनाए, ७ वैशाख ०६७ मा ।
बमबहादुर जेल चलान भएपछि माया घरमा एक्लै भइन् । उनले आफ्नो ल्याकतले भ्याएसम्म सबैतिर गुहार मागिन् । तत्कालीन बेलापुर गाविस– ३ का वडाअध्यक्ष रामलाल रानासँग पनि गुहार पुग्यो । पूर्ववडाअध्यक्ष राना सम्झिन्छन्, ‘हामीले त्यतिखेर जिल्ला सरकारी वकिल र प्रहरीलाई उस (बमबहादुर) ले विवाह गरेको हो भनेर धेरैचोटि भन्यौँ । तर सुनेनन् ।’
डेढ महिनाअगाडि मात्र विवाह गरेको लोग्ने जेल परेपछि मायाका हरेक दिन कष्टकर बने एकातिर परिवार पाल्नुपर्ने बाध्यता, अर्कोतिर श्रीमान्लाई जेलबाट छुटाउने प्रयास । दोहोरो परिश्रमले मायालाई गलायो । प्रेममा उनी कतिसम्म समर्पित भइन् भने बमबहादुर जेल बसुञ्जेल उनी माइती गइनन् । अन्ततः कैद भोगेर बमबहादुर थुनामुक्त भए । ठ्याक्कै मिति उनीहरूले बिर्सिसके । ‘बिहान सात बजे छाड्यो, ८ बजे त म पुगिहालेँ,’ बमबहादुर भन्छन्, ‘घर आएपछि हामी फेरि भारत गइहाल्यौँ ।’
सम्पत्तिका नाममा बमबहादुरको गोदवारी नगरपालिका– ९ मा आधा कट्ठा जमिन छ । त्यही जमिनमा घर छ । बाँकी जमिनको उत्पादनले परिवार नपालिने भएपछि बमबहादुर ज्याला मजदुरी गर्थे । डेढ वर्ष जेल परेपछि यो परिवारको आर्थिक दुर्गति झनै बढ्यो । श्रीमान् जेल बस्दा कति दिन त मायाले छिमेकीसँग मागेर पनि परिवारको पेट भरिन् । ‘भोकले बालबच्चा तड्पिन लाग्या । अर्काको घरबाट मागेर पनि खानुप¥यो,’ ती कष्टकर दिन सम्झिदाँ पनि मायाको गला अवरुद्ध हुन्छ ।
बमबहादुर जेलबाट छुटेपछि नदीबाट ढुंगा, बालुवा बोकेर ट्याक्टरमा राख्ने काम गर्न थाले । दुःख ज्यादा आम्दानी कम हुने भएपछि सार्की दम्पतीले रोजगारीका लागि फेरि भारत जाने निधो ग¥यो । ‘एक ट्रली भ¥यो भने तीन सय रुपैयाँ पाँइथ्यो,’ बमबहादुर सुनाउँछन्, ‘त्यति आम्दानीले एक छाक भात खान पनि नपुग्ने । अनि हामी भारत गयौँ ।’
सुविस्ताको जीवन कल्पँदै सार्की दम्पती भारत गयो । यता जिल्ला सरकारी वकिल कार्यालय भने बमबहादुरलाई मानव बेचबिखनमा सजाय दिनुपर्ने भन्दै जिल्ला अदालतको फैसलाविरुद्ध पुरनरावेदन अदालत पुग्यो । मुद्दा मामिलाको नमीठो विगत भुलेर भारत गएका सार्की दम्पतीले ७ भदौ ०७० मा छोरी पाए । त्यसपछि ०७१ र ०७३ मा दुई छोरा जन्मिए ।
०७७ मंसिरमा सार्की दम्पती भारतबाट सधैँझै नेपाल आए । तर, यसपटकको नेपाल आगमनले बमबहादुरलाई अचानक फेरि झ्यालखाना पु¥यायो । खाटा बसिसकेको १० वर्ष पुरानो मुद्दाको घाउ फेरि उनीहरूको जीवनमा बज्रपात बनेर आइलाग्यो । चाडवाडमा नेपाल आउजाउ गरिरहने उनीहरूले आफ्नो मुद्दा पुनरावेदन अदालत पुगेको पत्तै पाएनन् ।
१० जेठ ०६८ मा पुनरावेदन (हाल उच्च अदालत) का न्यायाधीशद्वय बाबुराम रेग्मी र डिल्लीराज आचार्यले बमबहादुरलाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको उनीहरूले फेरि पक्राउ परेपछि मात्र चाल पाए । ‘यस्तो फैसला भएको हामीलाई थाहै थिएन,’ बमबहादुर सुनाउँछन्, ‘हामी त अनपढ मान्छे, कसैले यो कुरा सुनाएनन् ।’
२८ मंसिर ०७७ मा मानव अधिकारकर्मी हुँ भन्दै सादा पोसाकमा आएका प्रहरीले बमबहादुरलाई घरबाटै पक्राउ गरेर कारागार पु¥याए । दुई दिनसम्म श्रीमान् घर नआएपछि माया भने बमबहादुरको खोजीमा लागिरहिन् । ‘उनलाई त फेरि जेल हाल्या रैछन्,’ माया अहिले पनि आक्रोशित हुन्छिन्, ‘त्यही श्रीमान्को घर कुरेर खाका छौँ, छोराछोरी भैग्या अनि अहिले एक्कासी छोपेर (फत्राउ) लगे ।’
१० वर्षअगाडि नै सकियो भनेर ढुक्क भएका बमबहादुरलाई फेरि त्यही मुद्दामा पक्राउ गरिएपछि माया न्यायको गुहार माग्दै भौँतारिइन् । ‘हाम्रा त अगाडिपछाडि कोइ नाई,’ असह्य भइन् माया, ‘हाम्ले चिन्या तिनै वडाअध्यक्ष थिए । तिनकै घर गयाँ ।’
मायाले पूर्ववडाअध्यक्ष रामलाल रानालाई गुहार्दै भनिन्, ‘मेरा चेलाचेली मुल्या भैजान्या भया ! (मेरा बालबच्चा टुहुरा हुने भए) भनेर वडाअध्यक्षको गोडामा छाँद हाल्या ।’
रानाले अधिवक्ता चित्रदेव जोशीसँग सल्लाह गरेर मुद्दाको मिसिल मगाए । ‘जसलाई बेच्न खोज्यो भनेर मुद्दा चलाइयो उसैसँग विवाह गरेर छोराछोरी जन्मिसके । तैपनि जेल हालेको मलाई चित्तै बुझेन,’ रानाले सुनाए ।
रानाकै सहयोगमा मायाले उच्च अदालतको फैसलाविरुद्ध ५ चैत ०७७ मा सर्वोच्च अदालतमा निवेदन दिइन् । तर, सर्वोच्चमा उनीहरूको मुद्दाको पालो आउनै १ वर्ष लाग्यो ।
सुनुवाइको पालो नआएपछि रानाले अधिवक्ता जोशीसँग सल्लाह गरेर बमबहादुरलाई सिधै इजलासमा निवेदन दिन लगाए ।
सिधै इजलासमा निवेदन आएपछि न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीले बमबहादुरको मुद्दाको पेसी अगाडि सारे । ‘२७ चैतमा पेसी थियो,’ रानाले सुनाए, ‘इजलासमा ठाडो निवेदन दिएपछि पेसी २ चैतमा सारे ।’
माया र बमबहादुरको विवाह दर्ता प्रमाणपत्र, तीन सन्तानको जन्मदर्ता प्रमाणपत्र, नाता कायम गरिएको कागज प्रमाणका रुपमा पेस गरिन्, मायाले । २ चैतमा सर्वोच्चले बमबहादुरलाई अनाहकमा सजाय दिएको भन्दै थुनामुक्त गर्न आदेश दियो ।
‘पीडित भनिएकी व्यक्ति र प्रतिवादीबीच विवाह भई भारतमा बसोबास गर्दै आएको र हाल तीन सन्तानसमेत भइसकेको भन्ने तथ्य विवाह दर्ता प्रमाणपत्र,’ सर्वोच्चले बमबहादुरलाई थुनामुक्त गर्ने आदेशमा लेखेको छ, ‘बच्चाहरूको जन्मदर्ता प्रमाणपत्रबाट पुष्टि भएको स्थितिमा कसुर गरेको देखिएन । अन्य कुनै मुद्दामा थुनामा राख्नु नपर्ने भए प्रतिवादीलाई थुनामुक्त गरिदिनु,’ सर्वोच्चले बमबहादुरलाई थुना मुक्त गर्ने संक्षिप्त आदेशमा लेख्यो ।
२ चैतमा सर्वोच्चको आदेश भएपछि भोलिपल्ट बमबहादुर झ्यालखानाबाट छुटे । तर, अनाहकमा उनले जेलमा बस्नुपरेको क्षति कसरी पूर्ति हुन्छ भन्ने चाहिँ अनुत्तरित नै छ ।

माया बमबहादुरकी कान्छी श्रीमती हुन् । पहिलो श्रीमती लक्ष्मीबाट ६ पटक सन्तान जन्मेर पनि नबाँचेपछि उनले जेठी श्रीमतीकै सल्लाहमा अर्को विवाह गरे ।
‘सन्तान हुँदै बित्दै गए,’ बमबहादुर दोस्रो विवाह गर्नुको विवशता सुनाउँछन, ‘जेठीले नै अर्को विवाह गर भनेपछि यिनी (माया) सँग विवाह ग¥या हुँ ।’
माया बमबहादुरकी जेठी श्रीमती लक्ष्मीकै काकाकी छोरी हुन् । ‘जेठीले नै अंकलको छोरी ल्याउनु, भोलि झैझगडा भए पनि लडेमरे पनि आफ्नै परिवार हुन्छ भनिन्,’ बमबहादुरको भनाइ छ, ‘म त विवाह गर्दिन भन्नेमा थिएँ । जेठीकै जिद्धिले विवाह गरेको हुँ । तर त्यस्तो बेहाल भइगयो ।’
बमबहादुर र मायाले ०६५ को चैतमा भागी विवाह गरेका हुन् । तर, मायाकी आमाले आफ्नी छोरीलाई भगाएर भारत लैजान लागेको भन्दै माइती नेपाललाई खबर गरिन् । माया सुनाउँछिन्, ‘म एक्ली छोरी थिएँ । म गर्भमै हुँदा बुवा बितिसकेका थिए । आमाले म सानै छु अहिले नै विवाह नगर भन्ने हिसाबमा छोपिदिनु भन्या रैछन् ।’
मायाकी आमाले माइती नेपाललाई छोरीलाई रोकिदिनु मात्र भनेकी थिइन् । तर, प्रहरी र माइती नेपालले भने बमबहादुरविरुद्ध मानव बेचबिखनकै मुद्दा चलायो ।
माइती नेपालकी संस्थापक अनुराधा कोइराला भने आफूहरूले सीमा नाकामा सोधपुछ मात्र गर्ने गरेको र मुद्दा चलाउने काम प्रहरीको भएको भन्दै पन्छिन्छिन् ।
निर्दोष भए पनि बमबहादुरले माइती नेपालकै कारण सजाय भोग्नुपरेको विषयमा भने कोइराला बोल्न चाहिनन् ।

०६७ मा जेल परेका बमबहादुर छुटेपछि मात्र माया माइती घर गइन् । माइती नेपाललाई खबर गरेर ज्वाईलाई जेल पठाएकोमा मायाकी आमा पनि पछुताइन् । माया सुनाउँछिन्, ‘उतिखेर रिसले छोप्न लगाइन् । तर, जेल परेपछि भने बेकार गरेछु भनेर आमा पछुताइन् ।’
पहिलोपटक जेलबाट छुटेपछि बमबहादुर जेठी र कान्छी दुवै श्रीमती लिएर भारत गए । उनी बारम्बार नेपाल भारत आउजाउ गरिरहन्थे ।
गत वर्ष भारतबाट फर्केपछि भने मायाले माइती मान्ने संस्कार पनि निभाइन् । मायाबाट ९ र ६ वर्षका दुई छोरा र १२ वर्षकी एक छोरी छन् भने लक्ष्मीबाट १४ वर्षकी छोरी छन् । थुप्रै गर्भ खेर गएपछि मायाकी दिदी लक्ष्मीको स्वास्थ्य खराब भयो । ‘दिदी कमजोरी मान्छे केही गर्न सक्दिनन् । घरमा उनी बालबच्चा सम्हालेर बस्छिन् । म काम गर्छु,’ माया भन्छिन् ।
हातमुख जोर्न पनि भारत जानुपर्ने सार्की परिवारका लागि बमबहादुरमाथि लगाइएको झुटा आरोप बज्रपात बन्यो । दोस्रो पटक सार्की जेल परेपछि त स्कुलको ‘फिस’ तिर्न नसक्दा ९ कक्षा पढिरहेकी सार्की दम्पतीकी जेठी छोरीले पढाइ नै छाड्नुप¥यो । अहिले माया धनगढीको एउटा घरमा काम गर्छिन् ।
सर्वोच्चको आदेशले बमबहादुर झ्यालखानामुक्त भएपछि पैसा कमाउन फेरि भारत जाने सोचाइमा छन् । माया छोराछोरीलाई जसरी पनि अक्षर चिन्नसक्ने बनाउने अठोटमा छिन् । आफूले अक्षर चिन्न नसकेकै कारण श्रीमान् झ्यालखाना जानु परेको नमीठो अनुभवले उनलाई छोराछोरी पढाउन मनोबल दिएको छ ।
१८ चैत २०७८, शुक्रवार १३:०५ बजे प्रकाशित































