एआईजीमा बढुवा भएका तीन जनाले लगाए फुली
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका तीनजनाले बिहीबार एआईजीको दर्ज्यानी चिह्न लगाएका छन् ।
सरकारले बिहीबारै वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई डीआईजीबाट एआईजीमा बढुवा गरेको थियो । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र थापाले बिहीबार प्रहरी प्रधान कार्यालय आयोजित कार्यालयमा उनीहरूलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
बढुवा सिफारिस समितिको निर्णयमा असन्तुष्ट जनाउँदै तीन जना डीआईजीले बिहीबारै बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले रिट दायर गरेका हुन् ।
मन्त्रिपरिषद्को निर्णयको पत्र अन्य सन्दर्भमा आइपुग्न केही दिन लाग्ने गरेको भए पनि पछिल्लो विवादबीच भएको निर्णय भने एकै दिनमा कार्यान्वयनमा आएको छ ।
१७ चैत २०७८, बिहीवार १७:३७ बजे प्रकाशित






























