punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विमानको पर्खाइमा टीकापुर

Chaupati
safha napa

टीकापुरको विमानस्थल विमानको पर्खाइमा छ । हवाई सेवा सञ्चालन गर्ने भनेर विमानस्थलमा अतिक्रमण गरी बसेका मुक्त कमैयालाई हटाइए पनि विमानस्थलमा विमान भने आउन सकेको छैन ।

२०४२ सालदेखि सञ्चालन भएको टीकापुर विमानस्थल विगतको द्वन्द्वका कारण २०५४ सालदेखि बन्द छ । बन्द रहेको अवस्थामा २०६१ सालमा मुक्त कमैयाद्वारा विमानस्थल अतिक्रमण भएको थियो ।

केही वर्षअघि टीकापुरको विमानस्थल सञ्चालनका लागि स्थानीयको पहल भएको थियो । स्थानीयको पहलमा विमानस्थल कब्जा गरी बसेका मुक्त कमैयालाई उठाएर अन्यत्र स्थानान्तरण गरिएको छ । बन्द रहेको विमानस्थल सञ्चालनका लागि स्थानीयबाट पहल हुन थालेपछि मुक्त कमैयाले विमानस्थलको जग्गा छोडेका हुन् ।

विमानस्थलको जग्गा कब्जा गरी ४ सय ३ मुक्त कमैया परिवार बस्दै आएका थिए । विमानस्थल पुनर्निर्माणका लागि गठित समितिको अनुरोधमा मालपोत कार्यालय टीकापुरले घरजग्गा खरिदबिक्री गर्दा विमानस्थलका लागि अतिरिक्त कर लगाएर करिब ३५ लाख रुपैयाँ रकम संकलन गरेको हो ।

टीकापुरमा विमानस्थल निर्माण तथा सञ्चालनका लागि गठित विमानस्थल निर्माण तथा सञ्चालन समितिको अनुरोधमा मालपोत कार्यालयले कर संकलन गरेको थियो । मालपोत कार्यालयले सेवाग्राहीबाट नगरपालिका क्षेत्रको राजीनामा गरेबापत जग्गाको जम्मा मूल्यको १ प्रतिशत र गाविस क्षेत्रको राजीनामाबापत ०.५ प्रतिशत रकम संकलन गरेको थियो । त्यसैगरी, बकसपत्रमा नगरपालिका क्षेत्रमा ०.५ प्रतिशत, गाविसमा ०.२५ प्रतिशत अतिरिक्त कर लिने गरेको थियो ।

विमानस्थल पुनर्निर्माणका लागि स्थानीयको सक्रियता भएपछि सरकारीतर्फबाट पनि पुनर्निर्माणको काम भएको हो । विमानस्थललाई तारबार गरी विमान रनवेका लागि ग्राभेलिङको काम भएको छ । टीकापुरमा विमान सेवा सञ्चालनका लागि गत जेठमा नै टेस्ट फलाइट भएको हो ।

तारा एयरको ट्वीनअटर विमानबाट टेस्ट फलाइट भएपछि टीकापुर विमानस्थल पुनर्निर्माण तथा सञ्चालन समितिले यति एयरलाइन्ससित टीकापुरबाट १६ सिट टिकट बेच्ने सम्झौता गरी साताको एक दिन फलाइट भर्ने सम्झौता पनि गरेको थियो । तर जहाज आएन ।

पुनर्निर्मित विमानस्थलमा जहाज नआएपछि विमानस्थल गाईबाख्रा चर्ने मैदान बनेको छ । हवाई यातायातका लागि १ सय किलोमिटरभन्दा बढी दूरीमा रहेको नेपालगन्ज या धनगढी जानुपर्ने बाध्यता छ । विगतमा टीकापुर विमानस्थल सञ्चालन हुँदा अछाम र जुम्लामा उडान हुने गरेको स्थानीय बताउँछन् । विमानस्थल बन्द भएपछि कोही पनि कर्मचारी यहाँ छैनन् ।

विमानस्थल सञ्चालनमा नआउँदा टीकापुर विकासमा पछि पर्दै गएको स्थानीय बताउँछन् । विमानस्थल पुनर्निर्माणका लागि गठित समितिका संयोजक टीकाराम जोशीले भने, ‘टीकापुर प्रशस्त पर्यटकीय सम्भावना बोकेको ठाउँ भए पनि हवाई यातायात नहुँदा हवाई यात्राबाट पर्यटक आउन सकेका छैनन् । ठूला व्यापारीरव्यवसायी पनि लगानी गर्न चाहँदैनन् ।’

टीकापुरमा विमानस्थल सञ्चालनका लागि पछिल्लो समय नेपाल सरकारको टोलीले सर्भे गरिरहेको संयोजक जोशीले बताए । उनले भने, ‘अर्थमन्त्रीले क्रमागत रूपमा बजेट दिने आश्वासन दिएका छन् । यो आर्थिक वर्षमा करिब २० करोड बजेट दिने कुरा भएको छ । सर्भेपछि तत्काल कालोपत्रेका लागि टेन्डर हुन्छ । विमानस्थल कालोपत्रे भएपछि विमान आउँछ ।’कान्तिपुरबाट


२४ माघ २०७८, सोमवार १३:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु