सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात, जनजीवन प्रभावित
सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ । पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम, डडेल्धुरा, बैतडी र दार्चुलामा भारी हिमपात भएको छ ।
डडेल्धुराको हगुल्टे, साउखर्क, तेल्यालेकलगायतका ठाँउहरुमा बाक्लो हिमपात भएको छ । यस्तै, बाजुराको हिमाली गाउँपालिका, बुढीनन्दा, स्वामीकार्तिक गाउँपालिका, बडीमालिका नगरपालिकाका विभिन्न स्थानमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दार्चुलाको उच्च हिमाली क्षेत्र तिङ्कर, छांगरु, दुम्लिङ र खण्डेश्वरीमा पनि हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।
यस्तै बझाङको बुङगल नगरपालिका, छविसपाथीभेरा, तल्कोट, साईपाल, मष्टा खप्तडछान्ना, थलारा, वित्थडचिर र दुर्गाथली गाउँपालिकामा बाक्लो हिमपात भएको छ । यहाँ हिमपातका कारण टेलिफोन सेवा आंशिक रुपमा प्रभावित भएको छ ।
बैतडीको खोडपे, डडेल्धुराको अनारखोलीलगायतका ठाँउमा हिमपात भएको छ ।हिमपातले यहाँबाट चल्ने यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
अछामको चौखुट्टे तथा कमलबजारलगायतका क्षेत्रमा पनि हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हिमपातका कारण पहाडी जिल्लाबाट प्रदेश राजधानीसँगै अन्य ठाउँसँगको यातायात सम्बन्ध टुटेको छ । धनगढी र महेन्द्रनगरबाट पहाडी जिल्लाका लागि छुटेका रात्रीकालीन बसहरु बाटोमै रोकिएका छन् । गत वर्ष मंसिरतिर हिमपात भएको भएपनि यस वर्ष ढिला गरि हिमपात भएको हो ।
१४ पुस २०७८, बुधवार ११:०४ बजे प्रकाशित













