पिएम कप सुदूरपश्चिम छनोट : खेलतालिका सार्वजनिक

प्रधानमन्त्री कप सिनियर पु्रुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेल तालिका सार्वजनिक शुक्रबार गरिएको छ।सार्वजनिक खेल तालिकाअनुसार छनोट प्रतियोगिता पुस १४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा सुरु हुने भएको हो।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार सहभागी हुने ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।समूह ए मा अछाम, डडेल्धुरा, कञ्चनपुर र दार्चुला रहेका छन्। समूह बी मा बैतडी, कैलाली, बझाङ र डोटी रहेका छन्।

प्रतियोगिताअन्तर्गत पुस १४ गते पहिलो खेलमा कञ्चनपुर र डडेल्धुरा भिड्दा दोस्रो खेलमा अछाम र दार्चुलाबीच भिडन्त हुनेछ।

पुस १५ गते अछाम र डडेल्धुरा प्रतिस्पर्धा गर्दा अर्को खेल कञ्चनपुर र दार्चुलाबीच हुनेछ।पुस १६ गते पहिलो खेलमा दार्चुला र डडेल्धुरा आमनेसामने हुँदा दोस्रोमा कञ्चनपुर र अछामबीच खेल हुनेछ।

पुस १७ गते बैतडी र डोटी भिड्दा अर्को खेलमा कैलाली र बझाङले प्रतिस्पर्धा गर्ने  सुदूरपश्चिम प्रदेश क्रिकेट संघले जनाएको छ।  यसका साथै पुस १८ गते पहिलो खेलमा कैलाली र डोटी भिड्दा दोस्रोमा बैतडी र बझाङ आमनेसामने हुनेछन्।

पुस १९ गते कैलाली र बैतडीबीच भिडन्त हुँदा दोस्रोमा बझाङ र डोटी मैदानमा उत्रनेछन्।सहभागीमध्ये शीर्ष दुईमा पुग्ने टोलीबीच पुस २० गते फाइनल हुनेछ। प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ।

उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ।नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ गतेदेखि काठमाडौंमा हुँदैछ।


९ पुस २०७८, शुक्रवार १८:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु