पुस १ अर्थात् प्रजातन्त्रमाथि ‘कू’ भएको दिन, के भएको थियो ?
तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा प्रथम जननिर्वाचित सरकारलाई अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ।
विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुआत गरेका थिए।
नेपाल तरुण दलको कार्यक्रममा सहभागी भएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो।
सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपीलगायतका नेतालाई बन्दी बनाइएको हो। यही जेलपछि सुन्दरीजल बन्दीगृहका नामले चिनियो।
यहीँ बसेर बिपीले ‘दोषी चश्मा’ कथा सङ्ग्रह बाहेकका साहित्यको रचना गर्नुभएको थियो। ‘दोषी चश्मा’ कथा सङ्ग्रह विसं २००८ मै प्रकाशन भइसकेको थियो।
‘दोषी चश्मा’ कथा सङ्ग्रह प्रकाशनपछि राजनीतिमा व्यस्त भएका बिपीलाई सुन्दरीजल बन्दीगृह साहित्य रचना गर्न वरदान सावित भएको थियो। यहाँबाट यौन मनोविश्लेषणवादी धाराका दर्जनौँ कृति नेपाली साहित्यले पाउन सक्यो।
बन्दीगृहमा रचना भएका कृतिमा ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास रचना गरेका थिए।
यसैगरी जेलमा बस्दा विसं २०१७ देखि २०२५ सम्मका दैनिकीको सङ्ग्रह ‘जेलजर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा थुनेपछि लेखिएको दैनिकीको सङ्ग्रह ‘फेरि सुन्दरीजल’, ‘आफ्नो कथा’ लगायत रचना २०१७ साल पुस १ गतेको शाही कूपछि नै नेपाली साहित्य जगतले पाएको हो।
पुस १ गतेको घटनापछि बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनलगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो।
पुस १ गते तरुण दललगायत संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनलाई कालो दिवसका रूपमा मनाउँदै आएका छन्। यसै अवसरमा आज नेपाली कांग्रेस र नेपाल तरुण दललगायतले देशभर विभिन्न कार्यक्रम गरी मनाउने जनाइएको छ।
१ पुस २०७८, बिहीवार १०:३६ बजे प्रकाशित































