माओबादी केन्द्र सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन भोलिदेखि
नेकपा माओबादी केन्द्रको सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन शनिबारदेखि धनगढीमा सुरु हुँदैछ । माओबादी केन्द्र प्रदेश कमिटीले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै शनिबार र आइतबार गरेर दुई दिनसम्म प्रदेश सम्मेलन आयोजना गरिन लागिएको जानकारी दिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनका लागि विभिन्न उपसमितिहरु गठन गरिएको जानकारी दिए । उनले सम्मेलनको शनिबार दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।
सम्मेलनमा निर्वाचित छ सय र अन्यसमेत गरेर एक हजार १९७ जना प्रतिनिधिको उपस्थिति रहने जानकारी दिइएको छ । इन्चार्ज भट्टका अनुसार सम्मेलनले २२३ सदस्यीय प्रदेश कार्यसमिति चयन गर्नेछन् ।
सुदूरपश्चिम प्रदेशमा माओवादीको सदस्यता सङ्ख्या ८२ हजार २३० पुगेको जनाइएको छ । अहिलेको सम्मेलनले पार्टीलाई अझ सङ्गठित र सुदृढ बनाउने इन्चार्ज भट्टले बताए ।
उनले माओवादी अब २०६४ साल वरिपरिकै माओवादी बन्ने दिशातिर रहेको बताए । ‘यो १२ वर्षको बीचमा माओवादीले लडाई, फुट सबै व्यहोरी सक्यो’, इन्चार्ज भट्टले भने, ‘अब हामी अरु पार्टीभन्दा सबैभन्दा बढी सङ्गठित र एकीकृत छौं ।’
२४ मंसिर २०७८, शुक्रवार १७:४४ बजे प्रकाशित































