punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमको प्रसिद्ध भुवाँ नाच सुरु

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशको देउडापछिको दोस्रो ठूलो खेल ‘भुवाँ नाच’ सुरुआत भएको छ। दिपायल सिलगढी नगरपालिका–५ घोलतडा गाउँबाट उक्त नाच सुरु भएको हो। सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम तथा डोटीसँगै कर्णाली क्षेत्रका केही जिल्लाको मौलिक संस्कृति र प्रमुख पर्व भुवाँपर्व अर्थात् भस्सो खेल्ने चलन छ।

झण्डै पाँचदेखि सात दिनसम्म यहाँका नागरिकले भुवाँ खेल्ने गरेको सिलगढी –५ का वडाध्यक्ष मदन भण्डारीले बताउ। उनका अनुसार परापूर्वकालदेखि उक्त नाच सुरु गरिएको हो। आफ्नै लय र भाकामा पञ्चेबाजाका साथमा नाचिने हतियारधारी समूहको ठूलो सामूहिक खेललाई नै यहाँ भुवाँ खेल भनिने गरिन्छ। कम्तीमा पनि पाँच किसिमका बाजाका तालमा सातदेखि आठवटासम्म भुवाँ खेल खेल्ने गरिन्छ।

तत्कालीन राजाका सैनिकले तालिमस्वरुप खेल्ने तथा युद्ध मैदानमा दुश्मनसँग कसरी लड्ने र विजयी हासिल गर्ने भन्ने कला त्यस नाचमा देखाइने गरेको दिपायल सिलगढी–५ का स्थानीयवासी अनिल भण्डारीले जानकारी दिए।

उनले भने, “पुरानो युद्धकला र त्यसको जर्गेना गर्ने उद्देश्यले यो नाच खेलिन्छ, युद्धमा आफू कसरी बच्ने र दुश्मनलाई कसरी पराजित गर्ने भन्नेबारे सिकाइने भएकाले खेलको रौनकता नै बेग्लै हुन्छ।” हातहातमा नाङ्गो तरबार बोकी खेलाडीले पुरानो राजाको पालाका पोशाक पहिरिइ पङ्क्तिबद्ध तरिकाले यो भुवाँ खेल खेल्ने गर्दछन्।

विजयादशमीको दिन सिलगढीको कालढुङ्गा भन्ने ठाउँमा उराउबाजा बजाएपछि यो खेलको सुरु हुने भए पनि यहाँका स्थानीयवासीले मङ्सिरको तेस्रो सातामा मात्र आएर खेलको सुरुआत गर्ने गरेको अर्का स्थानीय किरण भण्डारीले बताए। उनले भने, “उराउ बाजा बजाएपछि खेल हुनेबारे निश्चित हुन्छ तर स्थानीयवासीको फुर्सद र खेतीपातीको काम सकिएपछि मात्रै यो खेल सुरु हुन्छ।” पाँच दिनसम्म लगातार खेल्ने भुवाँ खेल डोटीलगायत यहाँका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाममा समेत खेल्ने गरिन्छ।

दिनमा नाङ्गो तरबारले भुवाँ खेल्ने तथा रातिका समयमा सुदूरपश्चिमेली डेउडा तथा परापूर्वकालका राजा रजौटाका बारेमा डेउडा खेल खेल्ने चलन रहेको स्थानीयवासी बताउँछन्। बायाँ हातमा ढाल, दायाँ हातमा तरबार लिई बाजाको तालसँगै गुरुको निर्देशनानुसार सुस्त गतिबाट भुवाँ खेल खेल्ने गरिन्छ।

पाँच दिनका अवधिमा डोटीको प्रसिद्ध देवी शैलेश्वरी, जिल्ला प्रशासन कार्यालय तथा पूर्वराणाकालीन दरबार डोटी गौडमा समेत यो नाच देखाई छैटौँ दिनमा कालढुङ्गामा नै गएर यो नाचको विर्सजन हुने गरेको दिपायलका स्थानीय गणेशबहादुर भण्डारीले जानकारी दिए।

उनका अनुसार यो खेलमा सबैभन्दा महत्वपूर्ण तथा रोचक मानिने ‘घाँ’ नाच हो। यस खेलमा दुई खेलाडीले हातमा नाङ्गो तरबार समातेर नाच्दानाच्दै एकअर्कालाई हिर्काउने र आफूलाई तरबारबाट बचाउन छेक्ने गर्दछन्।

भुवाँ डेउडामा सबै खेलाडी सामेल हुने भए पनि ‘घाँ’ नाचमा भने सबैलाई समावेश गरिँदैन। यस खेलमा चोटपटक लाग्न सक्ने भएकाले ‘घाँ’ नाच खेल्नमा पोख्त भएकाहरुलाई मात्रै खेलमा खेल्न दिने नियम छ।

 


२३ मंसिर २०७८, बिहीवार १४:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु