अछाम बस दुर्घटना : मृतकको पहिचान खुल्यो, ३६ जना घाइते
अछाममा मंगलबार दिउँसो भएको बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ ।
दुर्घटनामा जिल्लाको मंगलसैन नगरपालिका–१४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र मंगलसैन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थापाको मृत्यु भएको सुदूरपश्चिम ट्राफिक कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार बसमा सवार ३८ जना सवार थिए । अन्य सबै घाइते भएका छन् । उनीहरुको सदरमुकाममै उपचार भइरहेको छ ।
सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस मंगलसंन नगरपालिकाको डाँडाबाघ भन्ने ठाउँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । बस सडकभन्दा करिब १० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।
१४ मंसिर २०७८, मंगलवार १८:०१ बजे प्रकाशित































