कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिंदै, एमाले सहभागी नहुने
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज बस्ने प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् । बैठक दिउँसो १ बजे बोलाइएको छ ।मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले नियुक्त भएको २८औं दिनमा विश्वासको मत लिन लागेका हुन् ।
पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ताको नेतृत्व हस्तान्तरण गरेपछि कांग्रेस संसदीय दलका नेता शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ ।
सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा ९एकीकृत समाजवादी०ले मुख्यमन्त्रीलाई विश्वासको मत दिने छन् । प्रदेशसभामा कायम रहेका ३५ सदस्यमध्ये मुख्यमन्त्रीलाई १८ जनाको विश्वासको मत आवश्यक पर्छ । तर सत्तारुढ गठबन्धनसँग २३ मत रहेका छ । माओवादी केन्द्रको १२, कांग्रेसको ६ र समाजवादीका ३ जना सांसद छन् ।
एमाले सहभागी नहुने
आज बस्ने प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित हुने भएको छ ।सबै सांसदहरू पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा चितवन भएकोले बैठकमा सहभागी हुन् नसक्ने एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए ।
‘हामी सबै माननियहरू चितवनमा छौं, यहाँ मतदान चलिरहेको अवस्था छ । भोट हालेर पनि सहभागी हुने स्थिति छैन्,’ प्रमुख सचेतक शाहले भने ।
एमाले अनुपस्थित भए पनि संसद् बैठक चल्ने सभामुख राजबहादुर शाहीले बताए । ‘एमालेले बैठकमा सहभागी नहुने आधिकारीक जानकारी त गराएको छैन् तर मुख्यमन्त्रीले विश्वासको मत नलिँदा संवैधानिक जटिलता आउने भएकाले एमाले सहभागी नभए पनि बैठक चल्छ,’ सभामुख शाहीले भने ।
१४ मंसिर २०७८, मंगलवार ०८:५६ बजे प्रकाशित






























