झपट रावलको आक्रोश– प्रदेश कमिटीमा जथाभावी सदस्यता वितरण गरियो
एमाले केन्द्रीय सदस्य एवम् सांसद झपट रावलले कैलालीका पुराना नेतारकार्यकर्ताको नाम हटाएर जथाभावी संगठित सदस्यता दिइएको आरोप लगाएका छन्। एमाले केन्द्रीय सदस्य रावलले स्थायी कमिटी सदस्य लेखराज भट्ट,केन्द्रीय सदस्य कर्ण थापा लगायतले बलजफती गरेको समेत बताए।
उनले कैलालीका १३ पालिकामध्ये लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका, मोहन्याल गाउँपालिका, घोडाघोडी नगरपालिका र गोदावरी नगरपालिकामा अधिवेशन हुन नसकेको बताए।
एकता प्रक्रियाका नाउमा पूर्वमाओवादको तर्फबाट पूर्ण परिचय समेत नखुलाइकन सदस्यता वितरण भएको उनको भनाइ छ।उनले आफ्नो नाम समेत संगठित सदस्यबाट हटाइएको बताए।२०७५ जेठ २ अघि लम्कीचुहाका अध्यक्ष रहेका दलबहादुर रावल, प्रदेश कमिटी सदस्य यज्ञराज ढुंगाना लगायतको नाम संगठित सदस्यबाटै हटाइएको बताए।
‘धनगढीमा एकलौटी रूपमा कार्यसमिति घोषणा गरियो। सुदूरपश्चिमका अन्य ठाउँमा समेत बलजफती भएको छ। लम्कीचुहामा प्रक्रिया सुरू गर्ने भनेपछि साविकको नगर कमिटी अध्यक्ष दलबहादुर रावल प्रदेश सांसद यज्ञराज ढुंगानाको नामै छैन। मेरो पनि नाम छैन,’उनले भने,’म त केन्द्रीय सदस्य भएकाले केन्द्रमा रेकर्ड हुन्छ। तर आफ्ना पक्षमा छैनन् भन्ने आशंकाको आधारमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले धेरै पुराना सदस्यहरूको नाम हटाएको छ।’
उनले आन्तरिक लोकतन्त्र र जबजको कुरा गरेर नथाक्ने नेताहरूले मदन भण्डारीको खिल्ली उडाएको बताए।आफूले यस विषयमा पार्टी महासचिव ईश्वर पोखरेल र संगठन विभाग प्रमुख विष्णु पौडेललाई जानकारी गराएको समेत बताए।महाधिवेशन प्रतिनिधि ल्याउँदा नै धाँधलीपूर्ण तरिकाले ल्याउने प्रयास भइरहेको उनको आरोप छएमालेले महाधिवेशन प्रतिनिधिका लागि देशैभरि कात्तिक २७ गतेको मिति तोकेको छ।
२३ कात्तिक २०७८, मंगलवार २१:०० बजे प्रकाशित






























