बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्।सोमबार बसेको प्रदेशसभाको बैठकमा उनलाई प्रदेश सभाका ५९ जना सांसदले विश्वासको मत दिएका हुन्।
पाण्डेको विपक्षमा एमालेका ४३ सांसद उभिएका थिए। त्यस्तै दुईजना सांसदले तटस्थ बस्ने निर्णय लिएका थिए।मन्त्री पाण्डेलाई प्रदेशसभामा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदले विश्वासको मत दिए।
बागमती प्रदेशमा १०९ जना सांसद छन्। जसमध्ये विश्वासको मत लिने प्रक्रियामा १०४ जना सहभागी थिए।विश्वासको मत माग्दै मुख्यमन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको, बागमती प्रदेशको प्रगति र विकासको कामलाई अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए।
नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेतासमेत रहेका पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो।
गत कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेलाई नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र जसपाको समर्थन थियो।सरकारको नेतृत्व गरेको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
२२ कात्तिक २०७८, सोमवार १७:४९ बजे प्रकाशित































