धनगढी उपमहानगरको उदाशिनताले ‘एयरक्राफ्ट म्युजियम’ बाहिरिँदै
साढे सात वर्षअघि धनगढीमा स्थापना भएको नेपालकै पहिलो ‘एयरक्राफ्ट म्युजियम’ धगनढीबाट बाहिरिँदै छ । बेद उप्रेती ट्रष्टका सञ्चालक क्याप्टेन बेद उप्रेतीले आज धनगढीमा पत्रकारसंग भेटघाट गर्दै यसबारे जानकारी दिएका हुन् ।
जग्गा धनीसंग गरिएको सम्झौता सकिएको र धनगढीमा अन्य स्थानमा जग्गा नभेटिएपछि एयरक्राफ्ट बाहिर लैजान लागिएको उनले बताए । ‘धनगढी उपमहानगरपालिका र प्रदेश सरकारले पनि यसबारे कुनै चाँसो दिन नसकेपछि एयरक्राफ्ट म्युजियम धनगढी बाहिर लिन लागिएको हो’ उनले भने ।
क्षेत्रीय रंगशाला पछाडि साढे सात वर्ष अघि पाँच वर्षका लागि भनेर एयरक्राफ्ट म्युजियम स्थापना भएको थियो । कोरोना कहरका कारण एयरक्राफ्ट दुई वर्षसम्म रहेको हो ।
पर्यटकका लागि आकर्षक केन्द्र मानिएको एयरक्राफ्ट म्युजिम अन्यत्र सार्नका लागि धनगढी उपमहागनरपालिकासंग पनि ट्रष्टले कुरा अगाडि बढाएको थियो । उपमहानगरपालिकाले सुरुवातमा धनगढी पार्कमा एयरक्राफ्ट राख्न दिने व्यवस्था गर्ने बताए पनि अन्तिममा पछि हटेको ट्रष्टका सञ्चालक क्याप्टेन उप्रेतीले बताए ।
‘उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडसंग एयरक्राफ्ट धनगढी पार्कमा राख्ने व्यवस्था गर्नका लागि कुरा राखेको थिएँ,’ उनले भने, ‘उहाँ सहमत पनि हुनुभयो । बोर्डले पार्क उपलब्ध गराउने निर्णय पनि गर्यो । तर अन्तिममा सम्झौता गर्ने बेला भने उहाँ पछि हट्नुभयो । किन पछि हट्नुभयो मलाई थाहा छैन ।’ 
धनगढी उपमहानगरपालिकाले धनगढी पार्कलाई यसअघिनै ठेक्कामा लगाएको छ । जुन पार्क व्यवस्थित पनि छैन । क्याप्टेन उप्रेतीका अनुसार एयरक्राफ्ट राख्ने विषयमा पार्क ठेक्का लिएका व्यक्ति पनि सहमतीमै आएको अवस्थामा धनगढी उपमहानगरपालिकाका मेयर वड भने पछि हटेका हुन् ।
धनगढीबाट ‘एयरक्राफ्ट म्युजियम’ राख्ने स्थान नभेटिएपछि प्रदेश नम्बर ५ को नेपालगञ्ज वा यही प्रदेशको महेन्द्रनगरमा सारिने क्याप्टेन उप्रेतीले बताए । ‘महेन्द्रनगरमा आफ्नै जग्गामा अर्को म्युजियम पनि छ, जग्गा पनि भएकाले त्यहाँ पनि राख्न सक्छौं’ उनले भने, ‘नेपालगञ्जका मेयर धवलसिंह राणाले पनि यतै ल्याउनुपर्यो भनेर लागिरहनुभएको छ । नेपालगञ्जमै लैजान सकिने बढी सम्भावना छ ।’
नेपालगञ्ज उपमहागनरपालिकाले एअरक्राफ्टका लागि निःशुल्क जग्गा र थप लगानी पनि सहयोग गर्ने प्रतिबद्धता जनाइरहँदा धनगढी उपमहानगरपालिकाले जग्गा पनि उपलब्ध गराउन नसक्नु दुःखद् भएको क्याप्टेन उप्रेतीको भनाई छ । पर्यटन प्रबद्र्धनमा टेवा पर्याउने क्षेत्रलाई बाहिर जान नदिनुपर्ने अवस्थामा सामान्य सहयोगसमेत नभएको उनको गुनासो छ ।
केही व्यक्तिहरुले निजी जग्गा उपलब्ध गराउँछु भनेका भएपनि त्यो दीर्घकालसम्मका लागि नहुने उनले बताए । अबको डेढ महिना भित्रै एयरक्राफ्ट म्युजियम धनगढीबाट हटिसक्ने क्याप्टेन उप्रेतीले बताए । यद्यपि उनले उपमहानगरपालिकाले आजभोलिनै पार्क जग्गा उपलब्ध गराउन सके धनगढी बाहिर नलैजानेसमेत बताएका छन् । 
साथै उनले यो एयरक्राफ्ट म्युजियम अहिले धनगढी बाहिर गए पनि धनगढी उपमहानगरपालिकाले पछि जग्गा उपलब्ध गराएमा यो भन्दा पनि राम्रो एयरक्राफ्ट म्युजियम बनाउन आफू तयार रहेको बताए ।
धनगढीकै बासिन्दासमेत रहेका उप्रेतीले २०७० मा कस्मिक एयरको पुरानो फोकर–१०० ग्राउण्डेड विमान धनगढी ल्याएर एयरक्राफ्ट म्युजियम स्थापना गरेका थिए ।
सुदूरपश्चिमका पर्यटकीय महत्वपूर्ण स्थलहरू, यहाँको कलासंस्कृति तथा आधुनिक प्रविधिबाट ‘क्यानभास प्रिन्ट र फ्रेमिङ’ भएका तस्वीरहरू समेत संग्राहलयमा राखिएका छन् ।
पर्यटकका लागि आकर्षक केन्द्र मानिएको धनगढीकै मुटुमा रहेको म्युजियम बाहिरिने भएपछि यहाँको पर्यटन विकासमा केही असर पर्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।
१८ कात्तिक २०७८, बिहीवार १२:२२ बजे प्रकाशित






























