वेष्ट इन्डिजले दक्षिण अफ्रिकालाई दियो १ सय ४४ रनको लक्ष्य
आईसीसी टी–२० विश्वकप सुपर–१२ चरणअन्तर्गत आजको पहिलो खेलमा वेष्ट इन्डिजले दक्षिण अफ्रिकालाई १ सय ४४ रनको लक्ष्य दिएको छ।अहिले ब्याटिङ सुरु गरिसकेको दक्षिण अफ्रिका २ ओभरमा १ विकेट गुमाएर ६ रन बनाएर खेलिरहेको छ।
दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रनको लक्ष्य दिएको छ।उसका लागि इभिन लुइसले अर्धशतकीय पारी खेले। उनले ३५ बलमा ६ छक्का र ३ चौकासहित सर्वाधिक ५६ रन बनाए।
यस्तै, कप्तान किरोन पोलार्डले २६, लेन्डल सिमन्सले १६, क्रिस गेल र निकोलस पूरनले १२/१२ रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।बलिङमा ड्वेन प्रिटोरियसले ३, केशव महाराजले २ तथा एनरिक नोर्किया र कासिगो रबाडाले १र१ विकेट लिए।
जारी विश्वकपमा दुवै टिम पहिलो जितको खोजीमा छन्। दक्षिण अफ्रिका र वेष्ट इन्डिज दुवैले पहिलो म्याच हारेका थिए।दक्षिण अफ्रिका अष्टेलिया र वेष्ट इन्डिज इंग्ल्याण्डसँग पराजित भएको थियो।पोलार्डको कप्तानीमा वेष्ट इन्डिज इंग्ल्याण्डविरुद्ध मात्र ५५ रनमा अलआउट भएको थियो।
अष्टेलियाविरुद्ध दक्षिण अफ्रिका ५ विकेटले पराजित भएको थियो।त्यसैले आज दुवै टिम जित निकाल्ने लक्ष्यमा छन्। वेष्ट इन्डिजले हालसम्म दुई पटक टी–२० विश्वकपको उपाधि जितिसकेको छ।दक्षिण अफ्रिकाले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन।
९ कात्तिक २०७८, मंगलवार १९:५८ बजे प्रकाशित






























