एमाले महाधिवेशन : सुदूरपश्चिममा बाँकी रहेका जिल्लामा अधिवेशनको नयाँ मिति तोकियो
नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशका केही जिल्लामा वडा अधिवेशन सम्पन भएको छ । गत कार्तिक ६ गतेबाट सुरु भएको वडा अधिवेशन अन्तर्गत प्रदेशका चार जिल्लाका केही वडाहरुमा अधिवेशन सम्पन भएको हो ।बाढीपहिरोले कम क्षति भएका वडाहरुले अधिवेशन गरेका हुन् ।
बाजुरा, अछाम, डडेल्धुरा, बैतडी र दार्चुलाका केही वडाहरुमा अधिवेशन सम्पन्न भइसकेको नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले जानकारी दिए । बाढीपहिरोका कारण प्रदेशका बाँकी जिल्लामा यही १२ र १५ गतेका लागि अधिवेशनको मिति तोकिएको उनले बताए ।
‘बाजुराले पुरै वडामा अधिवेशन गरिसक्यो,‘ उनले भने, ‘अछाममा २५ वटा वडाले अधिवेशन सम्पन्न भइसकेका छन् ।’बाजुरामा ५० प्रतिशत भन्दा बढी वडाले अधिवेशन गरिसकेको र यही कार्तिक १३ गतेसम्म अन्तिम रिपोर्ट आउने बताए ।
‘अहिलेसम्म जतिपनि वडामा अधिवेशन भए सबै सर्वसम्मत नै भएको उनले बताए।’ आज (मगलबार) देखि देशभरका पालिका अधिवेशन सुरु भएसंगै वडामा अधिवेशन सम्पन्न भइसकेका स्थानीय तहहरुमा पनि अधिवेशन गरिने उनले बताए ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष र सचिव एक÷एक जना, उपसचिव दुई जनासहित महानगरपालिका १०१, उपमहानगरपालिकामा ८५ र नगरपालिका र गाउँपालिकामा ७५ सदस्यीय कमिटी चयन गर्नेछ ।
९ कात्तिक २०७८, मंगलवार १८:४३ बजे प्रकाशित






























