अवरुद्ध केआईसिंह राजमार्ग सुचारु
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण एक साता देखि अवरुद्ध डडेल्धुरा–डोटी जोड्ने केआईसिंह मार्ग सञ्चालनमा आएको छ ।केआई मार्गको रडुवामा अबरुद्ध सडक मर्मत पछि सञ्चालनमा आएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले बताए।
स्थानीय बासिन्दाले सडक मर्मत संभार गर्दा वस्ती जोखिममा पर्ने भन्दै अवरोध गरेका कारण मर्मतमा केही ढिलाई भएको बताउदै प्रमुख जिल्ला अधिकारी जोशीले स्थानीयसंगको समन्वय पछि सडक मर्मत थालिएको बताए ।
केआईसिंह मार्गको गन्यापधुरा गाउँपालिका २ रडुवाखोला–गजरौला सडक खण्डमा अहिले अस्थायी रुपमा भएपनी सडक संचालनमा ल्याएको सडक डिभिजन कुलपाते दीपायलका निमित्त प्रमुख इन्जिनियर योगेन्द्र अधिकारीले बताए । उनले हाललाई साना गाडी र डिजेल पेट्रोल बोकेका सवारीसाधनलाई छोडिएको बताए ।
रुडुवा खोला–गजरौला खण्डमा सय मिटर भन्दा बढि सडक खण्ड पहिरोले बगाएको छ । बाढी र पहिरोले सडक नै बगाएपछि एक सातादेखि डडेल्धुरा–डोटी जोड्ने केआईसिंह मार्ग अवरुद्ध हुदा सर्वसाधारण तथा यात्रुरुहरु पैदलै कष्टकर यात्रा गर्न बाध्य थिए ।
८ कात्तिक २०७८, सोमवार १५:०३ बजे प्रकाशित






























