प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा जात्रा सुरू

सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी बलि दिइने बैतडीको दशरथचन्द नगरपालिका–२ मा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा सुरू भएको छ।

महासप्तमीका दिन फूलपाती भित्र्याएर विशेष पूजाआजासहित जात्रा सुरू भएको र महाष्टमीका दिन बलिसहित पूजाआजा गरेर सम्पन्न हुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए। ‘महाअष्टमीमा बलि हुन्छ। पूजाआजा भने घटस्थपनादेखि नै सुरु हुन्छ‚’ उनले भने, ‘आज फूलपाती भित्र्याएसँगै जात्रा सुरु भएको छ।’

यहाँ रांगाको बलि दिने भाकल गरेकाहरुले आज नै राँगा मन्दिरमा लगेर बाध्ने चलन रही आएको छ। जात्रामा सुदूरपश्चिम प्रदेशका साथै भारतीय दर्शनार्थी समेत आउने गरेका छन्।यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन मदिरा बिक्री वितरण, सेवन र जुवातास खेल्न रोक लगाएको छ।

दशरथचन्द नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रनबहादुर बोहराका अनुसार घटस्थापनादेखि नै देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ।कसैले मदिरा सेवन गरेको पाइएमा दुई हजार, बेचबिखन र ओसारपोसार गरेमा ६ हजार जरिवानासहित मदिरा समेत जफत गरिने वडा कार्यालयले जनाएको छ। यसका साथै जुवा खेले वा खेलाएमा तीन हजार रुपैयाँ जरिवाना गरिने बताइएको छ।

यस्तै‚ कोरोना संक्रमणको जोखिम कायमै रहेकोले मेला तथा जात्रामा सहभागी हुने दर्शनार्थीहरुलाई अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ। यहाँ एक हजारभन्दा बढी पशुबली हुने अनुमान गरिएको छ।


२६ असोज २०७८, मंगलवार १२:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु