punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नवरात्रको सातौं दिन आज कालरात्रि देवीको पूजा गरिँदै

Chaupati
safha napa

नवरात्रको सातौं दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ ।

प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयंकर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । नवरात्रको सातौं दिन आज पूजा कोठा वा दशैं घरमा फूलपाती पनि भित्राइँदै छ ।

नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

दोस्रो दिन शुक्रबार पूजास्थलमा बह्मचारणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन आइतबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौं दिन सोमबार स्कन्दमाता र कात्यायनी देवीको पूजा आराधना गरियो । यस वर्ष षष्ठी तिथि टुटेकाले स्कन्दमाता र कात्यायनी दुवै देवीको एकैदिन पूजा आराधना गनुपर्ने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले बताए ।

सातौं दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष कोरोना भाइरसको संक्रमणको जोखिम कम भएकाले शक्तिपीठ खुला गरिएको छ । गत वर्ष बडादशैंमा शक्तिपीठ बन्द गरी घर घरमै पूजा आराधना गर्न सरकारले अनुरोध गरेको थियो । भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित देवी मन्दिर खुला गरिएको छ ।कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जाने, खानपिन गरी दशैं, तिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् ।रासस

 


२६ असोज २०७८, मंगलवार ०८:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु