प्रहरी हिरासतमा मृत्यु
कैलालीमा प्रहरीको हिरासतमा एक युवक मृत अवस्थामा फेला परेका छन्।
इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षभित्रको शौचालयको भेन्टिलेटरमा सुर्खेतको चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए।
विष्टका अनुसार भैँसी चोरीको आरोप लागेपछि प्रहरीले सोधपुछका लागि उनलाई पक्राउ गरेको थियो। कैलालीको जानकी गाउँपालिका–१ तोरैयापुरका पुलुराम थारूको भैँसी चोरी भएको थियो।
खोजतलास गर्दै जाँदा लम्कीचुहा नगरपालिका–५ थापापुरस्थित झोलुङ्गे पुल नजिक भैँसीसहित रानालाई भैँसीधनीले फेला पारी प्रहरीलाई खबर गरेका थिए। उनी आज बिहान हिरासत कक्षमा रहेको शौचालयको भेन्टिलेसनको सरियामा गन्जीको डोरी बनाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२५ असोज २०७८, सोमवार १२:३१ बजे प्रकाशित































