punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा कुष्ठरोगीको सङ्ख्या थपिँदै

Chaupati
safha napa

डोटीमा बर्सेनि कुष्ठ रोगीहरुको सङ्ख्या थपिँदै जान थालेको छ । डोटीमा थप पाँच जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।डोटीमा गएको वर्ष सात जना कुष्ठरोगी फेला परेका थिए भने यो वर्ष थप पाँच जनामा कुष्ठ रोग देखिएपछि अहिले डोटीमा कुष्ठ रोगीको सङ्ख्या १२ पुगेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७७र७८ को सुरुवातीमै डोटीमा पाँच जना नयाँ कुष्ठ रोगी फेला परेका जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत महेश बोहराले बताए ।उनले भने,डोटीमा बर्सेनि कुष्ठ रोगीको सङ्ख्या थपिँदै गएको छ, जसले गर्दा कुष्ठ रोग अन्त्य गर्नमा समस्यासहित चुनौती थपिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार नयाँ फेला परेका कुष्ठ रोगीहरुमा जोरायल गाउँपालिकामा एक जना, शिखर नगरपालिकामा एक, दिपायल सिलगढी नगरपालिकामा तीन जना रहेका छन् ।

जिल्लामा कुष्ठ रोग सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरिँदै आए पनि यहाँका गाउँघरमा कुष्ठ रोगीहरु अझै लुकीछिपी बस्ने गरेका कारण यहाँको कुष्ठ रोग अन्त्य हुन नसकेको चिकित्सकहरु बताउँछन्।

जिल्ला स्वास्थ्यका अनुसार जिल्लामा दुई वर्षयतादेखि कुष्ठरोगीको सङ्ख्या थपिँदै गएको पाइएको छ।गएको वर्ष डोटीका केआईसिंह गाउँपालिकामा एक जना, शिखर नगरपालिकामा दुई जना, पूर्वीचौकी गाउँपालिकामा एकजना, दिपायल सिलगढी नगरपालिकामा दुई जना र बडिकेदार गाउँपालिकामा एक जना कुष्ठरोगका बिरामी फेला परेका थिए।

जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न ठाउँमा चर्मरोग सम्बन्धी विभिन्न शिविर सञ्चालन गरेका कारण अहिले कुष्ठरोगी फेला पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवसिंह ठगुन्नाले जानकारी दिए । उनका अनुसार अस्पतालको रेकर्डमा आउन बाँकी रहेका दुईजना कुष्ठरोगीको बारेमा जानकारी आएको र सबै अध्ययन गरेर रेकर्डमा राखिने छ ।

जिल्लामा कुष्ठरोगीको सङ्ख्या थपिँदै जान थालेपछि स्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षमा जिल्लाका नौ वटै पालिकामा कुष्ठरोगका बिरामी पहिचानका लागि स्क्रिनिङ क्याम्प गर्ने योजना रहेको स्वास्थ्य कार्यालयका कार्यालय सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए ।

नेपाल सरकारले कुष्ठरोगमुक्त नेपालको परिकल्पना गर्दै सन् २०२० मा कुष्ठरोग प्रकोप दर प्रति दश हजार जनसङ्ख्यामा एक जनाभन्दा कम गर्ने लक्ष्य राखेको भए पनि डोटीमा कुष्ठरोगीको सङ्ख्या थपिँदै जान थालेपछि लक्ष्य चुनौतीका रुपमा लिइन थालिएको छ।

अन्धविश्वास र विभेदको अन्त्य गरी स–सम्मान स्वास्थ्य उपचार गर्ने वातावरण सिर्जनाका लागि चेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए ।

उनले भने,कुष्ठरोगका बिरामीलाई देवीदेउता लागेको भन्दै गाउँबाट अलगै राख्ने र कसैले पनि छुन नहुने भन्ने अन्धविश्वासले यो रोग निवारण गर्न समस्या भएको छ । समाजमा कुष्ठरोगीप्रति हुने गरेका विभेद नहटाउन्जेलसम्म यो समस्या विद्यमान रहने र कुष्ठरोग निर्मूल पार्न नसकिने चिकित्सकहरु बताउँछन् ।

कोरोना महामारीका कारण लक्षअनुसार कुष्ठरोग सम्बन्धी शिविर सञ्चालन गर्न नसकेका कारण कुष्ठरोगीको सङ्ख्या पत्ता लगाउन समस्या हुँदै आएको स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत बोहराले जानकारी दिए । उज्यालोबाट


२४ असोज २०७८, आइतवार १२:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु