एमाले छाडेर एकीकृत समाजवादीमा जाने तयारीमा भानुभक्त जोशी
नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा जाने तयारी गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा माधव समूहमा रहेका नेतालाई पेलेको र एकलौटी पार्टी चलाउन थालेको भन्दै जोशीले एमाले छाड्ने तयारी गरेका हुन्।
‘१० बुँदे सहमति कार्यान्वयन हुने अवस्था पनि देखिएन,‘ जोशीले भने, ‘त्यस विषयामा सोच्ने समय आइरहेको छ। उनले के गर्ने भन्ने विषयमा थाहा पाइहाल्नु हुन्छ ।’ उनले पार्टी विभाजनपछि नेतृत्व सच्चिने आशा गरिएकोमा त्यस्तो हुन नसकेको बताए।
उनले सुदूरपश्चिममा आफूनिकट कार्यकर्तालाई एकीकृत समाजवादीमा सक्रिय हुन आग्रह पनि गरिसकेको बताइएको छ । नेकपा एमालेमै हुँदा २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेपाल समूहले केन्द्रदेखि देशैभर समानान्तर कमिटी गठन गरेको थियो।
त्यसबेला जोशीलाई सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी दिइएको थियो। एमालेभित्रको संघर्षका क्रममा साथ दिँदै आएका जोशीले भदौ २ गते एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्ने निर्णयमा भने नेपाललाई साथ दिएनन्।
अहिले भने ओलीले एकलौटी पार्टी चलाउन थालेको भन्दै नेकपा (एकीकृत समाजबादी)मा आउन लागेका हुन् ।
२० असोज २०७८, बुधवार १८:२० बजे प्रकाशित































