दार्चुलामा एकैदिन तीन वटा विद्यालय भवन उद्घाटन
दार्चुला सदरमुकाम खलंगास्थित महेन्द्र नमुना माबि खलंगामा तीन वटा विद्यालय भवन र एउटा अनाथहरुका लागि छात्राबासको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला बडाल जोशीले विद्यालय भवनहरु र छात्राबास उद्घाटन गर्नुभएको हो ।
उक्त कार्यक्रममा महाकाली नगरपालिकाका नगरप्रमुख हंशराज भट्ट विशिष्ट अतिथि रहनुभएको थियो ।उक्त भवन निर्माणका लागि सहयोग गर्नुहुने सबैलाई विद्यालयका प्रधानाद्यापक रामदत्त जोशीले धन्यबाद ज्ञापन गर्नुभएको छ ।
करिब ५ वर्ष अघि २०७३ सालमा प्रावि खलंगा महेन्द्र मा वि संग एकीकरण हुँदा र २०७४ सालमा अग्रेजी माध्यममा पढाइ सुरु गर्दा चुहिने छतको मुनि सिलाप आउने भुइँमा विद्यार्थी राख्दा जुन पीडा थियो त्यो आज मेटिएको छ, प्रधानाद्यापक जोशीले भन्नुभयो, तीन वटा विद्यालय भवन एकैपटक उद्घाटन हुँदा निकै खुसी लागेको छ ।
भवन निर्माणका लागि सहयोग गरेको भन्दै उपसभामुख निर्मला जोशी, प्रदेशसभा सदस्य गेल्बु बोहरा र लिलाधर भट्टलाई प्रधानाद्यापक जोशीले विशेष धन्यबाद ज्ञापन गर्नुभएको छ ।
सहयोगी निकाय र कार्यालय, कार्यालय प्रमुख, जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समिति र निर्माण व्यवसायी लगायत प्रतक्ष र अप्रतक्षरुपमा भवन निर्माणमा योगदान पुर्याउने सबैलाई विद्यालय परिवारले धन्यबाद ज्ञापन गरेको छ ।
१८ असोज २०७८, सोमवार १८:२९ बजे प्रकाशित













