सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा योजना : ड्रोनबाट निगरानी गरिने
सुदूरपश्चिम प्रदेशमा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरिएको छ।प्रदेशभर विशेष सुरक्षा योजना बनाएर लागु गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विक्रम कुमार चन्दले जानकारी दिए।
प्रदेशभर ३ हजार ८ सय ४७ जना प्रहरी परिचालन गरेको उनले बताए। सिमानाकामा भारतबाट आउने नेपालीले सहज रूपमा स्वदेश आउन पाउने व्यवस्था मिलाएका चन्दले बताए।चोरी तस्करी नियन्त्रणका लागि प्रदेशका सीमा नजिकका ३९ ठाउँमा प्रहरी खटाएको उनले जानकारी दिए।
‘सीमा नाकामा यात्रु ठगिने तथा लागु औषध, विस्फोटक पदार्थ जस्ता वस्तु ओसारपसार हुनसक्ने भएकाले कुकुर समेत परिचालन गछौँ,’ड्रोनबाट पनि निगरानी बढाउदैछौं,सवारी दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड पनि लागु गरेका छौँ,’चन्दले भने,‘चाडपर्वमा अवाञ्छित गतिविधि हुन दिने छैनौँ।’
क्वीक रेस्पोन्स टिम, सर्प्राइज चेकिङ, प्रहरीको चेक प्वाइन्ट मार्फत सुरक्षा प्रदान र चेकजाँच भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।
१८ असोज २०७८, सोमवार १७:५० बजे प्रकाशित













