मुख्यमन्त्री कपका विजेता खेलाडीले अढाई वर्षपछि पुरस्कार पाउने
धनगढीमा २०७५ सालमा भएको मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिताको च्याम्पियन टोली सुदूरपश्चिम प्रदेशका खेलाडीले ढाई वर्षपछि पुरस्कार रकम पाउने भएका छन्।
सुदूरपश्चिम खेलकुद परिषद्ले पुरस्कार रकम असोज २० गते प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा खेलाडीहरुलाई दिने भएको हो।
ढाई वर्षसम्म सुदुरपश्चिम खेलकुद विकास समिति र प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त खातामा रहेको रकम बल्ल आएर खेलाडीलाई वितरण गरिने भएको हो।
खेलकुद विकास समिति र मन्त्रालयसँग लडेर रकम मागेको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए।
उनका अनुसार व्यक्तीगत तर्फ पहिलो हुनेलाई ३५ हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार नगद दिइनेछ। त्यस्तै समूहतर्फ प्रथम हुने टीमलाई जनही २८ हजारका दरले रकम प्राप्त गर्नेछन्।
यस्तै खेलका प्रशिक्षकले प्रतिव्यक्ती नगद ११ हजार प्राप्त गर्नेछन्। प्रतियोगितामा आयोजक सुदुरपश्चिम प्रदेश ३ स्वर्ण, १ रजत र ३ कास्य सहित च्याम्पियन बनेको थियो। च्याम्पियन टोलीले १५ लाख नगदमा सरकारी कर कट्टा गरी ११ लाख २५ हजार रकमलाई वितरण गरिने भएको छ।
१८ असोज २०७८, सोमवार १७:२७ बजे प्रकाशित













