वर्षाले धान भित्र्याउन समस्या
असोज तेस्रो साता लागिसक्दा पनि यस पटक ढिलासम्म मनसुनी वर्षा भइरहेको छ । यसले यहाँका किसानलाई धान भित्र्याउन समस्या भएको छ । खेतमा धान पाकिसकेको छ तर वर्षा नरोकिएकाले भित्र्याउन नसकिएको किसानले बताएका छन् । वर्षाले गर्दा धान काट्न ढिला हुँदा बोट खेतैमा लडेका छन् ।
टीकापुर नगरपालिकाको कटानपुरका जग्गुप्रसाद चौधरीले करिब एक बिघा धान मंगलबार काटेको र काटेकै दिन पनि पानी परेपछि धान सुक्न नपाएर बिग्रिने अवस्था भएको बताए । ‘पाकेको धान नकाटौं भएन । काटेकै दिन पानी पर्यो । भिजेर धान काम लाग्ला जस्तो भएन ।’
ढिलोसम्म वर्षा रहेकोले चाँडो हुने धान लगाएका किसानलाई धान भित्र्याउन समस्या परेको हो । जानकी गाउँपालिका–६ का भोजराज चौधरीले खल्ला खेतमा धान पाकिसकेको र पानीका कारण भित्र्याउन नसकिएको बताए । उनले भने, ‘पानी संँगै हावाहुरी पनि आएपछि धान ढलाइदिएको छ । पानी नरोकिए मिहिनेत र लगानी सबै खेर जालाजस्तो छ ।’
१६ असोज २०७८, शनिवार १२:५९ बजे प्रकाशित






























