भारतबाट फर्किनेका लागि नाकामा तोकियो नयाँ मापदण्ड
चाडपर्व मनाउनका लागि भारतबाट फर्किनेहरुलाई लक्षित गरेर कैलालीमा प्रवेश नाका तोकिएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना प्रकाशित गरी भारतबाट आउनेहरुलाई धनगढी उपमहानगरपालिकाको त्रिनगर र टीकापुर नगरपालिकाको खक्रौला नाकाबाट आउन दिने जनाएको हो ।
सम्बन्धित स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयले हेल्प डेस्क स्थापना गरेर प्रवेशमा सहजीकरण गर्नु पर्ने प्रशासनले जनाएको छ ।यसैगरी, भारतीय नागरिकको हकमा नेपाल प्रवेश गर्दा ७२ घण्टा भित्र आरटी पीसीआरबाट कोरोना परीक्षण गरिएको नेगेटिभ रिपोर्टसहित अनलाइन फाराम भर्नु पर्ने जनाइएको छ ।
नेपाल प्रवेश गर्न लागेकामध्ये शंकास्पद् व्यक्तिको एन्टिजेन विधिबाट परीक्षण गरिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । कोरोना नेगेटिभ रिपोर्ट आएमामात्रै प्रवेश गर्न दिइने जनाइएको छ ।

१५ असोज २०७८, शुक्रवार ०८:०६ बजे प्रकाशित






























