गड्डाचौकी नाकालाई सहज बनाउन माग
कोरोनाको दोस्रो लहरका बेला बन्द गरिएको नेपाल–भारत सीमानाकामा भारतीयलाई आवागमनमा अझै सहज गरिएको छैन ।केही दिनअघि मात्रै सरकारले नेपाल–भारत सीमानाका खुल्ला गर्ने निर्णय गरेको थियो तर कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल आउने भारतीयलाई सहज भने गरिएको छैन ।
नेपाली दैनिक मजदुरीका लागि भारत जाँदा परिचय खुल्ने कागजात हेरेर जान दिइरहेको छ । नेपाल आउने भारतीयलाई भने आधार कार्ड र पछिल्लो ७२ घण्टामा कोरोना परीक्षण गरेको रिपोर्ट देखाएमात्रै आउन दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले जानकारी दिए ।
‘माथिबाट आएको परिपत्रअनुसार आधार कार्ड र पीसीआर रिपोर्ट हेरेर मात्रै भारतीयलाई आउन दिइन्छ’ ।उनले भने, ‘पूर्णरुपमा अझै सहज भइसकेको छैन ।’
उनले भारतीय सवारी साधन भने अझै आउन रोक लगाइएको बताए । भारतीयहरू महेन्द्रनगर बजार क्षेत्रमा व्यापारिक कारोबार, घुम्नका साथै धार्मिक भ्रमणका लागि बढी मात्रामा आउने गरेका छन् ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले व्यावसायिक हिसाबले नाका सहज बनाउनुपर्ने बताए । रासस
११ असोज २०७८, सोमवार १८:०८ बजे प्रकाशित













