राप्रपाले थप्यो जिल्ला तहको अधिवेशन गर्ने म्याद
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जिल्ला तहको अधिवेशन गर्ने समयसीमा थप गरेको छ । आगामी कात्तिक २७ देखि महाधिवेशन गर्न लागेको राप्रपाले अधिवेशन गर्ने समयसीमा आगामी असोज २० गतेसम्म थप गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख ध्रुव बहादुर प्रधान र भास्कर भद्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र अधिकारी, पशुपति शमशेर राणा र कमल थापाको उपस्थितिमा बसेको पार्टीको केन्द्रीय बिशेष समितिको बैठकले सक्रिय सदस्यता वितरण गर्ने म्याद असोज २५ गतेसम्मका लागि थप निर्णय समेत गरेको छ ।
यस्तै पार्टीको सांगठनिक तह निर्वाचन सम्बन्धी विनियमावली २०७७ परिच्छेद ३ को दफा १९० ९ग० लाई मा केही व्यवस्था समेत थप गरिएको छ । जसमा ‘सम्बन्धित वडा र प्रदेशसभा निर्वाचन क्षेत्रको न्यूनतम सक्रिय सदस्य संख्या पुगेको हकमा सम्बन्धित वडाको सक्रिय सदस्यले महाधिवेशन प्रतिनिधिको चुनावमा उम्मेदवार हुन पाउनेछ ।
सम्बन्धित प्रदेशसभा अन्तर्गतका सवै सक्रिय सदस्यहरुले केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनमा मतदान गर्न पाउने छन्’ भन्ने वाक्य थप गरिएको छ ।तर पार्टी संगठनको कुनै तहमा अध्यक्ष रहेका व्यक्ति पार्टीको कुनै संयोजित संगठनमा पदाधिकारी हुन नपाउने राप्रपाले विज्ञप्तिमार्फत जनाएको छ ।
३१ भदौ २०७८, बिहीवार १६:५१ बजे प्रकाशित













