बैतडीका पाँच स्थानीय तहका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरु
भारतसँग सीमा जोडिएको बैतडीका पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु भएको छ। दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाका विद्यालयहरूमा भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको हो।
कोरोना संक्रमणका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको भविष्य विग्रने भन्दै विद्यालय सञ्चालनमा ल्याइएका हुन्। सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयलाई भदौ २१ देखि २७ गतेसम्म सञ्चालनमा ल्याइसक्न निर्देशन दिएको छ। सोही निर्देशनअनुसार नगरक्षेत्रमा रहेका कतिपय विद्यालय सञ्चालनमा आएको र केही २७ गतेदेखि सञ्चालनमा आउने नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिए।
यस्तै‚ सिगास गाउँपालिकाभित्रका विद्यालय मंगलबारदेखि सञ्चालनमा आएको गाउँपालिकाकी उपाध्यक्ष द्रोपती चन्दले बताइन्। पाटनमा भदौ २० गते, पञ्चेश्वरमा आइतबारदेखि र शिवनाथमा गत महिनादेखि नै विद्यालय खुलेको हो।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर विद्यालयहरुमा पठनपाठन भइरहेको स्थानीय तहहरुले जनाएका छन्। जिल्लाका अन्य पाँच स्थानीय तहका विद्यालय सञ्चालनको तयारी भएको छ।
मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सुर्नया गाउँपालिमा भदौ २७ गतेदेखि विद्यालय सञ्चालनमा आउने जनाएका छन् भने दोगडाकेदार गाउँपालिकाले भने केही दिनमै विद्यालय सञ्चालनको मिति तय गर्ने बताएको छ।
बैतडीमा कोरोनाका कारण हालसम्म १८ जनाको मृत्यु भइसकेको छ। हाल यहाँ २० जनामात्रै सक्रिय संक्रमित रहेका छन्। शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनीमा हाल कोरोनाका सक्रिय संक्रमित शून्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ।
२५ भदौ २०७८, शुक्रवार ०९:२४ बजे प्रकाशित






























