घोडाघोडीकी उपप्रमुख सहित १४ जना जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी
कैलालीको घोडाघोडी नगरपालिकाका १४ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । उपप्रमुख, ३ जना वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य र जिल्ला समन्वय समितिका सदस्यले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् । प्रदेश निर्वाचन आयोग, धनगढी स्थित कार्यालयमा पुगेर उनीहरूले सनाखत गरेको प्रदेश सांसद अमर साउँदले जानकारी दिएका छन् ।
उपमेयर प्रेम कुमारी थापा, वडाध्यक्ष टेक बहादुर बुढा, धन बहादुर बम, भीम बहादुर बम, जिल्ला समन्वय समिति सदस्य मालती बि।क, कार्यपालिका सदस्य रति कामी, पार्वती तिवारी, राज पति चौधरी, वडा सदस्यहरू नवीन बिस्ट, लक्ष्मी रुद्र न्यौपाने, सङ्गीता बि।क, भूमि नन्द जोशी, इन्दु चौधरी लगायतले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।
निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरूलाई एमाले वा एकीकृत समाजवादी रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।
२२ भदौ २०७८, मंगलवार १७:४० बजे प्रकाशित






























