सुदूरपश्चिममा चौथोमा झर्यो पहिलो पार्टी एमाले, साथ गुमाउँदै रावल
सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले चौथो दल बनेको छ । आइतबार थप तीन सांसदले एमाले परित्याग गर्दै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजबादी) रोजेपछि एमाले चौथोमा झरेको हो ।
नेकपा (एस)मा यसअघि एमाले उपाध्यक्ष भीम रावलको विश्वास पात्रका रुपमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, पूर्व प्रदेश राज्यमन्त्री प्रकाश शाह र पूर्व सचेक तारालामा तामाङले सनाखत गरेका छन् । थप तीन सांसदले सनाखत गरेपछि नेकपा (एकीकत समाजबादी)मा प्रदेश सांसदको संख्या १३ पुगेको छ ।
यसअघि आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्ट, सांसदहरु सुशीला बुढाथोकी, कुलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारीले सनाखत गरेका थिए ।
१३ सांसदले नेकपा (एस)मा सनाखत गरेसंगै नेकपा एमाले ११ सांसदमा सीमित बनेको छ । यससंगै प्रदेशमा एमाले चौथो दल बन्न पुगेको छ । नयाँ पार्टीमा सनाखत गर्ने मन्त्री सोडारीले अझै अझै एक÷दुई जना सांसद सनाखत गर्ने र त्यसका लागि कुरा भइरहेको दाबी गरेका छन् ।
ढिलोगरी सनाखत गरेपनि मन्त्री सोडारी पार्टी विभाजन भएदेखिनै नेकपा (एस)मा खुलिसकेका थिए । सांसदहरुलाई नेकपा (एस)मा तान्न सक्रिय रहेका सोडारीले सुदूरपश्चिम प्रदेशमा नेकपा (एस) सबैभन्दा ठूलो पार्टी बन्ने दाबीसमेत गरे ।
‘नेकपा (एस) सुदूरपश्चिममा सबैभन्दा ठूलो पार्टी बन्छ,’ उनले भने, ‘सांसदको संखया १५ सम्म पुग्नसक्छ । केही सांसदसंग छलफल भइरहेको छ ।’ सोडारीसहितका नेताहरुले यसअघि नेपाल समूहमै रहेका र ओली समूहमा रहेका केही सांसदसंग कुरा गरिरहेको बताइएको छ ।
अहिलेसम्मको अवस्था हेर्दा १३ सांसदको सनाखतसंगै नेकपा (एस) र माओबादी केन्द्र बराबरीको अवस्थामा पुगेका छन् । प्रदेशमा माओबादी केन्द्रका पनि १३ सांसद छन् । एमाले र माओबादी पहिलो र दोस्रो नम्बरमा आउँदा १२ सांसदसहित नेपाली काँग्रेस तेस्रो नम्बरमा कायम भएको छ । ११ सांसदसहित एमाले चौथो र दुई सांसदसहित जनता समाजबादी पार्टी (जसपा) पाँचौ स्थानमा छन् ।
साथ गुमाउँदै रावल
आइतबार एकपा (एस)मा सनाखत गरेका सांसदमध्ये पूर्वराज्यमन्त्रीसमेत रहेका प्रकाश रावल पार्टीमा विवाद देखिएका बेला माधव नेपाल पक्षमै थिए । तर, जब नेपाल नेतृत्वमा नेकपा (एस) गठन भएपछि उनले आफू एमालेमै रहेको बताएका थिए ।
ओली समूहमा लागेका सांसदहरुले पनि उनलाई आफ्नो लिष्टमा राखिसकेका थिए । तर आइतबार उनी एक्कासी नेकपा (एस)मा सनाखतका लागि धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमा देखिए । मन्त्री सोडारीसंगै उनले पनि नेकपा (एस)मा सनाखत गरे ।
सांसद तामाङले पनि यसअघि भदौ १५ गतेनै सनाखत गर्ने भनिएको थियो । तर उनी अन्तिमसम्म पनि नआएपछि उनी एमालेमै रहने हुन्कि भन्ने आशंका पदा भएको थियो । यद्यपि उनले आफू २२ गते भित्रै सनाखत गर्ने बताइहेका थिए ।
यो बिचमा उनले संसदीय दलका नेताका लागि बार्गेनिङ गरिरहेको भन्ने विषय पनि बाहिरिएको थियो । तर उनले ती सबै कुरालाई गलत पुष्टि गर्दै अन्तिममा नेकपा (एस)मा सनाखत गरेका छन् । नेकपा (एस)मै सनाखत गर्ने भनिएकी राज्यमन्त्री अर्चना गहतराजले भने आफू एमालेमै रहेको बताइसकेकी छन् ।
यसअघि माधव समूहमा रहेका बेला नेता कार्यकर्ताका उत्साहपूर्ण साथ पाएका रावल सुदूरपश्चिम प्रदेशमा कमजोर बनेका छन् । उनी अझै नेताहरुलाई नयाँ पार्टीमा जान नदिने कसरतमा लागिरहेको नेताहरु बताउँछन् ।
२० भदौ २०७८, आइतवार १८:५९ बजे प्रकाशित






























