सीमामा प्रदेश संसदीय टोली
भारतबाट घर फर्किने नेपालीको अवस्था र उनीहरूका लागि नाकामै बनाएको होल्डिङ सेन्टरको व्यवस्थापनबारे जानकारी लिन शनिबार सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिका सांसदहरूले अनुगमन गरेका छन् ।
समितिले दसैंतिहारका बेला घर फर्किनेको चाप बढ्न सक्ने भएकाले त्यसको व्यवस्थापन र कोरोनाको तेस्रो लहरको रोकथामका लागि पूर्वतयारीको अवस्थाका बारेमा जानकारी लिएको छ ।
‘विगतको तुलनामा केही सुधार त भएको छ, तर अझै पनि पूर्णरूपमा व्यवस्थित हुन सकेको देखिएन, ‘समितिकी सभापति कुन्ती जोशीले भनिन्, ‘यात्रुहरूका लागि खानेपानी, शौचालय र बाटोको समस्या देखियो ।’ उनका अनुसार होल्डिङ सेन्टरमा स्वास्थ्यकर्मीहरूको पनि अभाव र संरचनाको छाना प्लास्टिकको भएकाले स्थायी खालको बनाउनुपर्नेछ ।
कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा बढिरहेका बेला भीमदत्त नगरपालिका, सेनाको श्री नं। २५ बाहिनी भगतपुर र गैरसरकारी संस्था निड्स नेपालको सहयोगमा गड्डाचौकीमा होल्डिङ सेन्टर निर्माण गरिएको हो । त्यसबाट भारतबाट घर फर्किनेहरूलाई चेकजाँचदेखि केही समय विश्रामका लागि सजिलो भएको छ ।
‘अब यसलाई स्थायी खालको बनाउनुका साथै खानेपानी, शौचालय र जाँच स्थलदेखि होल्डिङ सेन्टरसम्मको बाटो निर्माणमा प्रदेश सरकारले ध्यान दिनुपर्छ,’ सभापति जोशीले भनिन्, ‘यस विषयमा हामीले प्रदेश सरकारले निर्देशन दिन्छौं ।’
सुदूरपश्चिम प्रदेश सरकारले विगतमा पनि होल्डिङ सेन्टर निर्माणदेखि व्यवस्थानमा ठूलो रकम खर्च गरिसकेको छ । ‘प्रदेश सरकारले व्यवस्थापन राम्रै गरेको भनेको छ, तर त्यस्तो पाइएन,’ समितिका सदस्य सांसद ग्याल्बोसिंह बोहराले भने, ‘तेस्रो लहर रोकथाम तथा न्यूनीकरणका लागि पूर्वतयारीको अवस्था पनि हामीले अध्ययन गरिरहेका छौं ।’ उनले अध्ययनपश्चात प्रदेश सरकारलाई निर्देशन दिइने बताए । अनुगमन टोलीमा समितिका सदस्यहरू सुशीला बुढाथोकी, माया तामाङ बोहरालगायत थिए ।
समितिले अहिले भारत जाने र घर फर्किनेको तथ्यांकबारे पनि जानकारी लिएको छ । यात्रालाई थप व्यवस्थित र सहज बनाउने विषयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूसँग पनि समितिको छलफल भएको छ । अहिले भारतबाट दैनिक घर फर्किनेको संख्या ३र४ सय र भारततर्फ जानेको संख्या २र३ सय छ ।
भारतबाट घर फर्किनेहरूलाई नाकामै एन्टिजेन परीक्षणसँगै कोरोनाविरुद्धको खोप पनि दिन थालिएको छ । गत सातादेखि नाकामै खोप लगाउन थालिएको हो । सरकारको निर्देशनअनुसार जिल्ला स्वास्थ्य कार्यालयले एस्ट्राजेनेकाको खोप दिइरहेको हो ।
संसदीय समितिले यसअघि पनि होल्डिङ सेन्टरको अनुगमन गरेको थियो । यसबाहेक प्रदेश सरकारका मन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधिहरूले नियमित रूपमा अनुगमन गर्दै आएका छन् ।
२० भदौ २०७८, आइतवार १२:५८ बजे प्रकाशित






























