‘बुवालाई न्याय दिलाउन कानून विषय रोजेँ
आफूजस्तै अन्यायमा परेकाहरुको न्यायका लागि लड्ने चाहाना
१३ वर्ष अघि अज्ञात समूहद्वारा मारिएका कैलालीका पत्रकार जेपी जोशीकी छोरी पूजा जोशीले आफ्नो बुवालाई न्याय दिलाउने अठोटका साथ कानून विषय रोजेकी छन् । पूजाको चाहाना अनुसार पत्रकार महासंघको पहलमा उनलाई धनगढीस्थित एक्सिस विद्याश्रममा कानुन विषय अध्ययनका लागि कक्षा ११ मा भर्ना गरिएको छ ।
धनगढीको एक्सिस विद्याश्रमले पूजालाई निःशुल्क पढाउने घोषणा गरेको कार्यक्रममा आइतबार उनले भनिन्, ‘म र मेरो परिवारले जस्तै अरुले पनि अन्याय भोग्नु नपरोस,’ उनले भनिन्, ‘कानून पढेर बुवाको न्यायका लागि पनि लड्छु । असहाय परिवारलाई पनि साथ दिन सकुँ ।’
सुरुमा आमाले कानून पढाउन नमाने पनि अहिले आफूले मनाएको उनले बताइन् । ‘आमाले महिलाले कानून पढ्न हुँदैन भनेर कसले भनिदिएछन्,’ उनले भनिन्, ‘सुरुमा मान्नु भएको थिएन, अहिले मनाएरै छोडे ।’ पूजा पत्रकार जोशीकी जेठी छोरी हुन् । जेपी बेपत्ता हुँदा पूजा तीन वर्षकी मात्रै थिएन् ।

यसैवर्ष ३.५ जिपिए ल्याएर एसइई पास गरेकी पूजालाई एक्सिसले निःशुल्क पढाउँदैछ । पत्रकार महासंघको आग्रहमा एक्सिसले निःशुल्क पढाउन लागेको हो । ‘हामी अभिभावकविहिन, विपन्न र जेहेन्दारलाई पढाउदै आएका छौं,’ एक्सिसका सञ्चालक अनिता पन्तले भनिन्, ‘नेपाल पत्रकार महासंघको आग्रहमा पूजालाई पनि पढाउँदैछौं ।
पूजाले कानून पढ्न चाहाना राखेपछि निःशुल्क पढाउने व्यवस्था गरिएको पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाहले बताए । उनले यसमा एक्सिसले साथ दिएकोमा धन्यबाद व्यक्त गरे । ‘पूजालाई कक्षा ११ र १२ पढ्न झण्डै एक लाख खर्च हुने स्थिति थियो,’ उनले भने, ‘कानून नै पढ्ने भनेपछि हामीले एक्सिसलाई आग्रह गरेका थियौं ।’ उनका अनुसार एक्सिसले नै धनगढीबाट झण्डै २० किलोमिटर टाढा रहेको जोशीको घर मालाखेतीबाटै ल्याउने र लैजाने व्यवस्था पनि गर्ने भएको छ ।
सो अवसरमा महासंघका केन्द्रीय सचिव हेमकर्ण विक र जिल्ला अध्यक्ष हिमालय जोशीले पूजालाई निःशुल्करुपमा पढ्ने व्यवस्था गरेकोमा आभार व्यक्त गरे । सो अवसरमा धनगढीका सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । आर्थिकरुपमा विपन्न स्वर्गिय पत्रकार जेपीका दुई छोरीहरुलाई पत्रकार महासंघले नै विभिन्न निकायलाई आग्रह गरेर निशुल्करुपमा पठनपाठन गराइरहेको छ ।

स्वर्गीय जोशीकी अर्की छोरी गीता जोशीलाई अत्तरियास्थित एभरेष्ट बोर्डिङ स्कुलले निशुल्क पढाउने व्यवस्था गरेको प्रिन्सिपल स्माइल चौधरीले बताए । जोशी ०६४ पुसमा अत्तरियाबाट बेपत्ता भएका थिए भने त्यसको एक महिनापछि उनको कंकाल अत्तरिया नजिकैको जंगलमा भेटिएको थियो । यद्यपी उनको डिएन टेस्ट मिलेको छैन ।
१३ भदौ २०७८, आइतवार २१:२१ बजे प्रकाशित































