स्वास्थ्य संकट न्यूनीकरण अगामी बजेटको प्राथमिकता : अर्थमन्त्री शाह
धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले अगामी आर्थिक वर्षको बजेट स्वास्थ्य संकट न्यूनीकरणतर्फ केन्द्रित हुने बताएका छन् ।
सोमबार बसेको प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्षको बजेट र कार्यक्रमका सिद्धान्त तथा प्राथमिकतासहितको पूर्वबजेट दस्तावेज प्रस्तुत गर्दै मन्त्री शाहले कोरोना भाइरस महामारीबाट सिर्जित स्वास्थ्य संकट न्यूनीकरण र त्यसले पारेको प्रभाव नियन्त्रण उन्मुख बजेट ल्याइने बताएका हुन् ।
प्रदेश र स्थानीय तहमा स्वास्थ्यको गुणात्मक विकास गर्दै गुणस्तरीय स्वास्थ्य सेवामा प्रदेशबासीको पहुँच अभिवृद्धि गर्ने, स्वास्थ्य सेवामा प्रदेश सरकारको भूमीकालाई थप सशक्त बनाउने, कृषिको उत्पादकत्व वृद्धि गर्दै खाद्य सुरक्षाका कार्यक्रमलाई प्रभावकारी बनाउने कुरालाई पनि विशेष प्राथमिकता दिइने उनले जनाएका छन् ।
यस्तै मन्त्री शाहले गरिबी न्यूनीकरणका साथै दिगो आर्थिक विकासका लागि नतिजामुखी काम गर्ने नीति अवलम्बन गर्ने, रुपान्तरणकारी आयोजनामा स्रोत साधनको कमी हुन नदिने कुरालाई समेत ध्यानमा राखेर अगामी वर्षको बजेट तथा कार्यक्रम ल्याइने बताए ।
आर्थिक मामिला मन्त्री शाहले प्रस्तुत गरेको अगामी आर्थिक वर्षको बजेट र कार्यक्रमका सिद्धान्त तथा प्राथमिकतासहितको पूर्व बजेट दस्तावेजमाथि सोमबार दिउँसो बस्ने प्रदेशसभाको बैठकमा छलफल सुरु हुनेछ ।
२४ जेठ २०७८, सोमवार १५:२८ बजे प्रकाशित































