कञ्चनपुरमा क्लिनिकहरु म्याद गुज्रेका स्वास्थ्य सामाग्री विक्री गर्दै
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेका मेडिकल तथा क्लिनिकहरुमा अनुगमन गरिएको छ । कोरोनाको संक्रमणबाट जोगिन सरकारले लगाएको लकडाउनको फायदा उठाउदै बिभिन्न व्यापारीहरुले कालो बजारी तथा म्याद गुज्रेका सामग्रीहरु बिक्रि वितरण गरेको गुनाशोका आधारमा बजार अनुगमनलाई तिव्रता दिएको अनुगमन टोलीका संयोजक तथा भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत सुवास अधिकारीले बताए ।
औषधि ऐन २०३५, औषधि दर्ता नियमावली २०३८, जनस्वास्थ्य सेवा ऐन,२०७५ र भीनपाको स्थानीय स्वास्थ्य सेवा ऐन,२०७६ बमोजिम मेडिकल तथा क्लिनिकहरू सञ्चालन भए÷नभएका, कानून सम्मत तवरले काम गरे÷नगरेकाबारे अनुगमन गरिएको प्रशासकीय अधिकृत सुवास अधिकारीले बताए ।
साथै उपभोक्ता संरक्षण ऐन, २०७५ ले सुनिश्चित गरेको उपभोक्ताको संवैधानिक अधिकारको कार्यान्वयन गराउन स्थानीय बजार अनुगमन टोलीबाट निरीक्षण गरिएको उनको भनाई छ । गत हप्ता देखी नगरपालिकाले नगरका १९ वटै वडामा नियमीत बजार अनुगमन र स्वास्थ्य क्लिनिकहरुमाथी निगरानि बढाएको हो ।
बिहिवार पनि नगरपालिकाले वडा नम्बर ७, ८ र १० मा रहेका मेडिकल तथा क्लिनिकहरुमा अनुगमन गरेको जनाएको छ । अनुगमनका क्रममा दुई वडा मेडिकलबाट १० हजार बराबरको म्याद नाघेका औधषी समेत बरामद गरेको छ ।
वडा नम्बर ७ स्थित हर्क सिंह महराको क्लिनिक र चन्द्रकान्त क्लिनिक,शर्मा मेडिकल स्टोरबाट ५/५ हजार मुल्य बराबरको म्याद नाघेका औधषी बरामद गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत अधिकारीले बताए ।
२२ जेठ २०७८, शनिवार १०:२४ बजे प्रकाशित






























