Alok

महामारीमा पुनर्बास : ‘वडा–वडामा निगरानी समूह परिचालित छन्’

कोरोना महामारीमा स्थानीय सरकार : अंक ६

नेपाल अहिले कोरोना महामारीको चपेटामा परेको छ । देशका अन्य क्षेत्रभन्दा सुदूरपश्चिम अझ बढी संक्रमण फैलिएको छ । देशभर अहिले संक्रमण विस्तारै कम हुँदै गइरहेको भएपनि तुलनात्मक रुपमा सुदूरपश्चिममा भने खासै फरक पर्न सकेको छैन । यहाँका स्थानीय तहहरुले प्रदेश र स्थानीय सरकार आफ्नोतर्फबाट लागिरहेका छन् । तर प्रदेश र संघीय सरकारले महामारी नियन्त्रणका लागि राम्रो भूमि खेल्न नसकेको बताइरहेका छन् । यसैबीच हामीले ‘कोरोना महामारीमा स्थानीय सरकार’ अन्तर्गतको छैटौं अंकमा कञ्चनपुरको पुनर्बास नगरपालिकाका नगरप्रमुख जीवनराज थापासंग कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

 

मेयर साब पुर्नबास नगरपालिकालाई कसरी चिनाउन चाहनुहुन्छ ? छोटकरीमा बताइदिनुस न ।
यो नगरपालिका कञ्चनपुर जिल्लाको दक्षिणी बेल्टमा अवस्थित छ । साबिकको परासन, त्रिभुवन बस्ती तथा कालिका गाविस मिलेर यो नगरपालिका बनेको हो । भौगोलिक रुपमा नौंवटा वडामा बिभाजित नगरपालिकामा २०६८ सालको जनगणना अनुसार ४३ हजार ९९६ जनसंख्या रहेको छ ।

 

नगरपालिकामा स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र र अस्पतालहरुको के कस्तो ब्यवस्था छ ?
सबै वडामा क्लिनिक स्थापना गरेका छौं । तीन÷चार वटा स्वास्थ्य केन्द्र छन् । एउटा कोभिड अस्पताल बनाएका छौं । सबै ११ वटै वडामा आधारभुत स्वास्थ्य सेवा उपलब्ध छ ।

 

“युवा परिचालन गरेका छौं । घर–घरमा को संक्रमित छन् विवरण राख्छौं । स्वास्थ्य मापदण्डको पालना भएको छ/छैन निगरानी गर्छौं । बोर्डरका वडाबाट हुने आवतजावतलाई निगरानी गरेका छौं ।”

 

भारतलगायत अन्य ठाउँबाट आएकाहरुको व्यवस्थापन कसरी गर्नु भएको छ ? नगरपालिकाले क्वारेन्टाइनको व्यवस्था गरेको छ ?

क्वारेन्टाइनको व्यवस्था छैन । सरकारको नीति पनि होम क्वारेन्टाइनलाई नै प्राथमिकता दिने भन्ने रहयो । दोस्रो लहर आउदासम्म विद्यालयहरुमा पठनपाठन चलिरहेको थियो । बाहिरबाट आउने मान्छेहरु घर–घरमा गएर बसिसकेका हुँदा क्वारेन्टाइनको व्यवस्था हुन सकेन ।

 

यो नगरपालिका भारतीय सीमासंग जोडिएको छ । यसले गर्दा पनि अहिले घर–घरमा भारतबाट आएकाहरु छन् । उनीहरुबाट संक्रमण थप नफैलियोस भन्नका लागि के गरिरहनुभएको छ ?
वडा वडामा सर्वदलीय टीम नै पठाउने गरेका छौं । युवा परिचालन गरेका छौं । घर–घरमा को संक्रमित छन् विवरण राख्छौं । स्वास्थ्य मापदण्डको पालना भएको छ/छैन निगरानी गर्छौं । बोर्डरका वडाबाट हुने आवतजावतलाई निगरानी गरेका छौं ।

 

नगरपालिकामा स्वास्थ्यकर्मी, चिकित्सकहरु र एम्बुलेन्सको अवस्था के छ ?
हामीसंग जम्मा ५२ जना स्वास्थ्यकर्मी छन् । जसमा एक जना डाक्टर, स्टाफ नर्स पाँच जना र एचए, अहेब पनि सामेल छन् । हामीसंग दुई वटा एम्बुलेन्स तयारी अवस्थामा छन् । रेडक्रसको एम्बुलेन्सलाई पनि आवश्यकता अनुसार प्रयोग गछौं ।

 

गम्भीर खालका विरामीलाई थप उपचारमा अन्यन्त्र रिफर गर्नु परे कसरी र कहां गर्नु हुन्छ ?
एम्बुलेन्सहरु तयारी अवस्थामा हुन्छन् । त्यस्तो रिफर गर्नुपर्ने भए धनगढी वा महेन्द्रनगर गर्ने गर्छाैं ।

 

अहिले नगरपालिकामा बहिरबाट आएका मानिसहरु कति छन् ? उनीहरुमा कोरोना परिक्षण भएको छ वा छैन ?
हालसम्म ४ हजारको आसपासमा बाहिरबाट मानिसहरु नगरपालिकामा भित्रिएका छन् । जसमध्ये २ हजार १०० को परीक्षण गरिएको छ । हालसम्म ३६० जना संक्रमित नगरपालिकामा रहेको तथ्यांक हामीसंग छ ।

 

नगरपालिका क्षेत्रमा थप संक्रमण नफैलियोस् भन्नका लागि के रणनीति अपनाउनु भएको छ ?
नगरपालिका पुरै सील गरेका छौं । प्रहरी परिचालन गरिएको छ । निगरानी समूहले वडा वडामा काम गरिरहेका छन् ।

 

लकडाउन भएको पनि लामो समय भयो । दैनिक ज्यालादारी गर्ने र कमजोर आर्थिक अवस्था भएकाहरुलाई राहतका बारेमा के सोच्नु भएको छ ?
त्यस्तो समस्या देखिएको छैन । राहातको कुनै व्यवस्था गरिएको छैन । विगतमा राहातको दुरुपयोग भएको पनि हामीले पायौं । यस पटक कतैबाट राहतको माग भएको छैन ।

 

अब कुरा गरौं खोपको । अहिले कोरोना विरुद्द लड्न खोप प्रभावकारी देखिएको छ । नगरपालिकामा कोरोनाको खोप कतिले लगाएका छन् ?
पहिलो पटकको खोप केहीले मात्र पाएका छन् । अधिकांशले पाएका छैनन् । भ्याक्सिन पाउनेमा स्वास्थ्यकर्मी र स्वयंसेवीकाहरु पर्दछन् ।

 

“अरु पालिकासंग सहकार्य गरेर भएपनि एउटा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेका छौं । एन्टिजेन टेस्टिङ किट, पीपीई किटको पनि अभाव छ । पीसीआर रिपोर्ट आउन ढिलो हुन्छ त्यति बेलासम्म मान्छेहरुले लापरवाही गर्ने गर्छन् । यसले गर्दा संक्रमण थप फैलिरहेको पाएका छौं ।”

 

नगरबासीलाई खोप लगाउनेबारे के सोच्नु भएको छ ?
नगरबासी सबैलाई भ्याक्सिन लगाउने कुरा हामीले भन्दा पनि सरकारले व्यवस्था गर्ने कुरा हो । यो संघीय सरकारको काम हो । यसका लागि हामीले पहल गर्ने हो ।

 

नगरपालिकाको अहिलेको मुख्य चुनौती के हो ?
हामीकहाँ अक्सिजन नहुनुले ठुलो समस्या दिएको छ । २५—३० बेड क्षमता भएको हाम्रो कोभिड अस्पताल छ । यहाँ विरामीले अक्सिजन प्राप्त गर्न सके केही सहज हुने थियो । हामीसंग अहिले ८—१० वटा अक्सिजन सिलिण्डर छन् । अरु पालिकासंग सहकार्य गरेर भएपनि एउटा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेका छौं । एन्टिजेन टेस्टिङ किट, पीपीई किटको पनि अभाव छ । पीसीआर रिपोर्ट आउन ढिलो हुन्छ त्यति बेलासम्म मान्छेहरुले लापरवाही गर्ने गर्छन् । यसले गर्दा संक्रमण थप फैलिरहेको पाएका छौं । सम्भावित संक्रमितहरुले आफूलाई आइसोलेसन नगरिदिँदा समस्या थप जटिल बनेको छ । हामीले पीसीआर टेस्ट गर्ने बित्तिकै आफूलाई आइसोलेसनमा राख्न अनुरोध गरेका छौं ।

 

अन्तमा नगरबासीलाई केही भन्नु छ ?
पुर्नवास नगरपालिकाका जनतालाई म के अनुरोध गर्न चाहन्छु भने भिडभाड नगरी दिनुस्, घर बाट ननिस्किदिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी अभियानका साथ लागिरहेका छौं । जनतालाई नियम कानुनको पालना गरिदिए, व्यवहारमा परिवर्तन ल्याए हामी कोरोनालाई परास्त गर्ने छौं । नआत्तिनुहोस धैर्य राख्नु होस् भन्न चाहन्छु ।

 

समयका लागि धन्यवाद मेयर साब ।
यहाँलाई पनि धन्यवाद, मलाई मेरा कुरा राख्ने मौका दिनुभएकोमा ।


९ जेठ २०७८, आइतवार २१:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु