प्रणालीबद्ध विकासको जग निर्माण गर्नेछु : हमाल

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगर धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ठूलो मतान्तरले विजयी भएका छन् । धनगढीलाई लोककल्याणकारी नमुना शहर बनाउने प्रतिबद्धताका साथ चुनावी मैदानमा उत्रेका हमालले गठबन्धनका साझा उम्मेदवार निवर्तमान मेयर नृपबहादुर वडलाई पराजित गर्दै पाँच वर्षका लागि सत्तारोहण गरेका हुन् । दलहरुका उम्मेदवारलाई हराएर मेयरमा निर्वाचित हमालका अगाडि अवसर र चुनौति के छन्, जनताको अवस्था परिवर्तन गर्नका लागि उनका काँधमा आएको जिम्मेवारी पुरा गर्न उनको तयारी के कस्तो छ भन्नेलगायत समसामयिक विषयमा केन्द्रित रहेर मर्निङबेलडेली डट कमका लागि सुनिता बिकले गरेको कुराकानी :
निर्वाचनमा जाँदा जनतासमक्ष धेरै वाचा गर्नुभएको छ । जितेपछि कामको शुरुवात चाँहि कहाँबाट गर्दै हुनुहुन्छ ?
मैले शुरुबाटै भन्दै आइरहेको छु, धनगढीको योजनाबद्ध विकासका लागि दीर्घकालीन योजना बनाएर प्राथमिकताका आधारमा विकास निर्माणको काम गर्नुपर्दछ । हामीले हिजोको जस्तो पहुँच र भोट पाउनका लागि गरिने बजेट विनियोजनको दुरुपयोगलाई नियन्त्रण गरेर योजनाबद्ध काममा बजेट दिन सक्यौं भने जनताले चाहेको दिगो विकास सम्भव छ । म दलबाट निर्वाचित भएर नआएकोले मैले दलका नेता वा कार्यकर्ता खुशी पार्नुपर्ने बाध्यता छैन । मैले धनगढीका आम जनतालाई खुशी पार्नु पर्नेछ, जुन काम म भोलिबाटै व्यवस्थित र प्रणालीबद्ध भएर अघि बढाउँदैछु ।
निर्वाचनको नतिजा तपाईले अनुमान गरेजस्तै आयो कि केही फरक पाउनुभयो ?
म अघिल्लो निर्वाचनमा उपविजेता बनेपछि नगरवासीसँगको सम्बन्धलाई अझ बनाउँदै अघि बढें । गाउँ÷गाउँमा पुगेर स्वतन्त्र व्यक्तिले चुनाव जित्यो भने के के फरक हुनसक्दछ भनी जनतालाई बुझाउने काम ग¥यौं । त्यस क्रममा जनताले भिजन र दृढसंकल्प भएको व्यक्तिलाई मेयर बनाउन चाहेको प्रष्ट भयो । सोहीअनुसार जनताबाट सल्लाह सुझावहरू पनि पायौं । गत चुनावबाट पाठ सिक्दै मैले समयमै उम्मेदवारी घोषणा गरे । त्यसपछि हाम्रो पक्षमा माहोल बनाउन सबै क्षेत्रबाट सहयोग मिल्यो । जसले गर्दा म राम्रै मतले जित्छु भन्ने विश्वास लागिसकेको थियो र नतिजा पनि हामीले साचेजस्तै सुखद आयो । जनताले ठूलो भरोसा र विश्वासका साथ जिम्मेवारी दिएका छन्, म त्यो जिम्मेवारी पुरा गर्न तयार छु ।
निर्वाचनमा जाँदा मलाई एकपटक परीक्षामा बस्ने मौका दिनुस्, बदलामा म धनगढीलाई नमुना शहर बनाउँछु भनेर भन्नु भएको थियो । जनताले तपाईलाई ५ वर्षको लागि परीक्षामा बसाएका छन् । तपाईको तयारी चाँहि कस्तो छ ?
धनगढी उपमहानगरपालिकालाई प्रणालीबद्ध विकासको खाँचो छ । म त्यसैको जग बसाउने काम गर्नेछु । मैले मेरा प्राथमिकता र आगमाी योजनाहरुबारे पटकपटक बोलेको छु, तिनको कार्यान्वयनका लागि दीर्घकालीन र अल्पकालीन नीति तथा योजना बनाएर काम शुरु गर्छु । सुशासन, पारदर्शिता र लोककल्याणकारी उपमहानगर बनाउने मेरो सपना छ । जनताको आवश्यकता र प्राथमिकता बाहेक मेरो अर्काे कुनै पनि अदृश्य स्वार्थ छैन । त्यसैले जनताले दिएको यो अवसरलाई सदुपयोग गर्दै म परीक्षामा राम्रो अङ्क ल्याएर उत्तीर्ण हुनेछु ।
तपाईका तत्कालीन प्राथमिकता चाँहि के के हुन् ?
मेरो पहिलो प्राथमिकतामा सचिवालय सुदृढीकरण हो । त्यसका लागि कार्यालय प्रमुख र विभिन्न शाखाका कर्मचारीसँग सल्लाह सुझाव लिएर सचिवालयलाई चुस्त, दुरुस्त, पारदर्शी र जनमुखी बनाउँछु । कृषि, शिक्षा, स्वास्थ्य र रोजगार मेरो मुख्य प्राथमिकतामा छन् । अव्यवस्थित शहरीकरणलाई व्यवस्थित, डुवान समस्या समाधान, सुकुम्बासी समस्या समाधान, तटबन्धको समस्या समधान, सिँचाई समस्या समाधान गर्ने काम मेरो प्राथमिकतामा छ । यी मध्ये केही काम नगरपालिकाको क्षेत्राधिकार भित्र पर्छन् भने र केहीमा नगरपालिकाले समन्वय गरेर गर्नुपर्ने हुन्छ ।
स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा विजयी हुनु भएको छ । कार्यपालिकामा दलहरुकै बहुमत छ, काम गर्न सजिलो हुन्छ त ?
चुनावको बेला पनि यो विषय व्यापक रुपमा प्रचारप्रसार गरियो । हामी जनप्रतिनिधिका रुपमा जनताबाटै अनुमोदित भएर आएका छौं । सबै मिलेर धनगढी बनाउने लक्ष्य हो । यसमा कुनै दलको वा जनप्रतिनिधिको आपत्ति हुन्छ होला भन्ने लाग्दैन । हामी सबै हाम्रो धनगढी हामी बनाउँछौं भनेरै आएका हौं । त्यसैले जब हामी सबैको चाहना एउटै छ भने यसमा समस्या कता बाट आउँछ ? बरु यो त काम गरेर देखाउने एउटा स्वर्णीम अवसर हो सबैका लागि । शहरको विकासका लागि गरिने काममा कसैले विरोध गर्छ होला र ? । हामी सबैको सामुहिक स्वार्थ धनगढी बनाउने मात्रै हो । त्यसकारण भोलि राम्रो काम गर्ने क्रममा असहजता हुने भन्ने कुरै आउँदैन । कार्यपालिकाले मात्रै होइन, धनगढीका जनताले पनि यसमा साथ र समर्थन दिन्छन् ।
अब पाँच वर्षपछि तपाईको परिकल्पनाको धनगढी कस्तो हुनेछ ?
म धनगढीलाई नमुना शहरको रुपमा विकास गर्ने एजेण्डासहित यहाँ आएको हुँ । मलाई धनगढीले बनायो, अब मैले निःस्वार्थ भावनाले धनगढीलाई बनाउनुपर्छ भन्ने मेरो उद्देश्य हो । मैले परिकल्पना गरेको भनेको नै नमूना धनगढी हो । धनगढी एक व्यवस्थित शहरका रूपमा अगाडि बढ्ने छ । सहरीकरणको विकाससँगै पर्यावरण संरक्षणमा पनि ध्यान दिनेछौँ । दीगो विकास लक्ष्यका सबै सूचाङ्कहरुलाई मध्यनजर गरेर काम गर्नुपर्ने छ । ५० वा सय वर्षपछिको धनगढीलाई मध्यनजर गरेर पुर्वाधार निर्माण गर्नेछौं । आउने सन्ततिले कुनै प्रकारको समस्या भोग्न नपरोस् । जन्मभुमीमा कुनै सम्भावना छैन भनेर विरक्तिएर कसैले आफ्नो ठाउँ छोड्न नपरोस्, हामी सबैले परिकल्पना गरेको धनगढी यस्तैयस्तै हैन र ?
उपमहानगरपालिकाबाट उपलब्ध हुनुपर्ने सेवा प्रभावकारी छैन भन्ने गुनासो जनताको छ, यसलाई कसरी सुधार्नुहुन्छ ?
जनताको सेवा गर्ने पवित्र मनसायबाट आएकोले मलाई यसमा कुनै दुविधा छैन । म टाइमपास गर्न वा पैसा कमाउन मेयर बनेको नभइ जनताको सेवा गर्न र धगनढीलाई बस्न लायक नमूना शहर बनाउन आएको हुँ । जनताको सेवा गर्ने जिम्मेवारी लिएर आएका हामी सबैले निर्दिष्ट कामहरु इमान्दारीपूर्वक गर्नैपर्दछ । उपमहानगरको सेवा प्रवाहको सन्दर्भमा जनताले निराश हुनुपर्ने छैन ।
८ जेठ २०७९, आइतवार १७:५४ बजे प्रकाशित