परिस्थितीको गाम्भिर्यतालाई मध्य नजर गर्दै क्वारेन्टाइनको व्यवस्था गछौं : अध्यक्ष बोगटी
कोभिड महामारीमा स्थानीय सरकार ( अंक ३ )

कोरोना महामारी युद्ध हो , रणनीति चाहिन्छ
कोरोना महामारीको पहिलो लहरमा सम्पुर्ण विश्वमा एक प्रकारको रणभुल्लता देखियो । युरोप लगायत विश्वकै उत्कृष्ट स्वास्थ्य पुर्वाधार भएको देश अमेरिकामा देखिएको मृत्युका कुरुप दृष्यले एउटै कुरा इंगित गर्यो त्यो के भने हामीले कोरोना भाइरसलाइ चिनेनौ । कोरोनाको गाम्भीर्यतालाई बुझेनौ । त्यस बखत कोरोना केबल एक प्रपोगान्डा हो भन्नेहरु पनि निक्लिए । प्रपोगान्डाले मात्र विश्वभर लाखौ मान्छे हताहत हुने भए बन्दुक, बारुद, रसायनिक हतियार,आडविक हतियार किन बनाउथे होला शक्तिशाली राष्टहरु ? कोरोनाको पहिलो लहर पछि दोस्रो लहर कस्तो रुप लिन सक्छ भन्ने आकलन विश्वका केहि नेताहरुले गर्न सके त्यहि अनुरुप उनीहरु रणनीतिक हिसाबले अगाडी बढे । अमेरिका आफै यसको उदाहरण हो। कुनै समय विश्वमै सब भन्दा बढी संक्रमण र मृत्युदर भएको देश अहिले सुधारात्मक अवस्थामा छ। त्यसको प्रमुख कारण हो अमेरीकाको भ्याक्सिनेशन ड्राइभ अभियान । त्यहाको वर्तमान सरकारले भ्याक्सिनलाइ कोरोना विरुद्दको रणनीतिक हतियार मानेको छ । १०० मिलियन अर्थात १० करोड जनसंख्याले भ्याक्सिनको दुबै डोज लिइसकेको छ । जुन कुल जनसंख्याको प्रतिशत ४० हो। ५० प्रतिशतले एक डोज प्राप्त गरि सकेका छ्न् । फलस्वरूप अमेरिकामा संक्रमित दर , हस्पिटल भर्नादर र मृत्युदरमा उल्लेखनीय कमी आएको छ ।
यसको ठिक विपरित भारतमा २ प्रतिशतले मात्र पुर्ण डोज भ्याक्सिन प्राप्त गरेका छन । ११ प्रतिशतले मात्र एक डोज प्राप्त गरेका छन् । जस्कोपरिणाम भारतका जनताले अहिले भोगिरहेका छन् । भ्याक्सिनले संक्रमणको बृद्दिदर रोक्छ । कोरोना नियन्त्रण गर्ने वर्तमान विश्वसंग यो मात्र एउटा प्रभावकारी उपाय हो ।
कोरोना यस्तो दुस्मन हो जस्ले आकार बदलिरहेको छ , स्वरुप बदलिरहेको छ । पहिलो लहर सिथिल हुने बित्तिकै कतीपय राष्ट्रका नेताले उपलब्धि ठान्दै चुनावी प्रचार ,राजनीतिक दाउपेच, उद्घाटन, सभा ,सेमिनार ,सम्मेलनमा रमाउन थाले । कोरोना विरुद्ध लड्ने योजना ,रणनीति , साधन स्रोतको जोहो तर्फ गम्भीर भएन ।अझ भनौ उनिहरुको प्राथमिकतामा जनताको स्वास्थ्य पर्दै परेन ।कोरोना भाइरसको चरित्रलाइ चिन्न सकेन्न हाम्रा नेताहरुले अझ भनौ चिन्न सक्ने क्षमता राखेन्न । कोरोनाले पुन एक पटक भयानक तरिकाले आक्रमण गर्यो । जनताले टाउको उठाउन पनि पाएन्न । नेताको अकर्मण्यता र नालायकिपन नियति बन्यो जनताको ।
सत्य के हो भन्दा आज हामी अर्थात मानव जाती युद्धरत छौं । युद्धमा दुस्मनलाइ चिन्नुपर्छ दुस्मनको चरीत्रलाइ चिन्नुपर्छ त्यही अनुरुप रणनीति बनाउनु पर्छ । रणनीति भन्नाले आपतकालीन उपाए इमिडियट रेस्पोन्स अल्पकालीन र दीर्घकालीन रणनीति भनेर बुझ्नु पर्छ । इमिडियट रेस्पोन्स बिरामीको उपचार हस्पिटल बेड अक्सिजन भेन्टिलेटर र चिकित्सक स्वास्थ्यकर्मीको उपलब्ध गराउनु तर्फ हुनुपर्छ । अल्पकालीन रणनीति जो छोटो समय दुई हप्ता देखि एक महिना सम्मको हुन सक्छ । यस रणनीति अन्तरगत कोभिड अस्पतालको निर्माण र भ्याक्सिन रणनीति बन्नुपर्छ । दिर्घकालीन रणनीतिमा सम्पुर्ण जनतालाई भ्याक्सिन उपलब्ध गराउने चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था ,अध्ययन अनुसन्धानको निरंतरता र प्रमुख भनेको अब महामारी हुदा कसरी समाधान गर्छौं भन्ने तयारी अर्थात प्रीपेड्नेश पर्दछ ।
रणनीतिको कुरा गर्दा इमर्जेन्सी रेस्पोन्सलाइ थातिराखेर योजना बनाउन लाग्नुस भनेको कदापी होइन । रणनीति बनाउन सेमिनार गोष्टि गर्नुस भनेको पनि हैन । अहिलेसम्म्को अनुभव बाट सिकेर आफ्नो ग्राउन्ड रियालिटीलाइ बुझेर विश्लेषण गर्न सक्ने क्षमता भएको नेतृत्वले रणनीति बनाउन सक्छ । युद्धले यस्तै भिजनरी नेतृत्वको माग गर्दछ । रणनीति बिना युद्द जितेको इतिहास कतै छैन ।
यो कोरोना रुपी युद्ध मानव सभ्यता मानव अस्तित्व विरुद्धको युद्ध हो । दुस्मन घर घरमा घुसिसकेको छ यस विषम परिस्थितिमा हरेक सरकार संघीय , प्रदेशिक र स्थानिय संग रणनीति अर्थात कोरोना विरुद्धको रणनीति हुनु पर्ने आवश्यक भइसकेको छ प्रत्येक परिवार संग कोरोनाको सामना गर्ने योजना वा रणनीति हुन आवश्यक भइसकेको छ । युद्धमा सरकार जनता सबै जिम्मेवार हुन्छ्न् । युद्ध यसरी नै जितिन्छ ।
कोभिड महामारीमा स्थानिय सरकारको आजको अंकमा हामीले डोटी जिल्लाको पुर्वी चौकी गाउँपालिकाका अध्यक्षसंगको कुराकानी प्रस्तुत गरेका छौं । प्रस्तुत छ गाउँपालिकाका अध्यक्ष दिर्घ राज बोगटी संगको कुराकानी
पुर्वी चौकी गाउँपालिकाको छोटो परिचय भनिदिनुसन रु कसरी चिनाउनुहुन्छ पुर्वी चौकीलाई ?
पुर्वीचौकी गाउपालीका डोटी जिल्लाको पुर्वी भागमा पर्छ । यसको क्षेत्रफल ११७।६६ वर्ग किलोमिटर रहेको छ । यहाको जनसंख्या २३४८० छ । यो सात वटा वडामा विभाजित छ । परापुर्वकालमा अड्डा अदालतले छिनोफानो गर्न नसकेको मुद्दा मामिलाको समाधान सभा कचहरी द्वारा गर्ने ठाउलाई चौकी भन्ने प्रचलन रहेको पाइन्छ । घना वस्ती भएको ठाँउलाई पनि चौकी भन्ने प्रचलन रहेको पाइन्छ । यहि भएर यो पालिकाको नाम पुर्वीचौकी रहन गएको हो ।
दिपायल सिलगढी नगरपालीका बाट १२ किलो मिटरको दुरीमा नै यो पालिकाको सिमाना टच हुन्छ । पालिकाको सिमानामा भुस्वर्गका रुपमा परिचित खप्तड क्षेत्र पनि जोडिएको छ । खप्तड प्रवेश द्वार पालिाको वार्ड न।२ मा पर्छ । पहलान सिंह मार्गका सडक पालिका हुदै जान्छ । अछाम जिल्लालाई पालिकाले छुन्छ साइपाल र के। आई। सिंह। पालिका नजिक छन् ।
तपाइको पालिकामा आजसम्म कतीजना कोरोना संक्रमित छ्न् ?
मेरो जानकारी अनुसार पालिकाका एक जना संक्रमित रहेका छन् अहिले उनि लगभग निको हुने अवस्थामा छन् भन्ने सुनेको छु ।
पालिका भित्र कतिवटा स्वास्थ्यचौकी छ रु आइसोलेशन छ कि छैन्न ?
हामी संग ७ वटा वडामा स्वास्थ्य चौकी छन् । हामीले आफ्नो पहलमा एकजना एम बि बिएस डाक्टर राखेका छौं । हामी संग कोभिड उपचारका लागि २ जना स्टाफ नर्स छन् जस्लाइ पालिकाले आफ्नै खर्चमा राखेको छ । हामी संग आइशोलेसन कक्ष १० बेडको छ । अक्सिजन भने हामीसंग छैन । हामीसंग ५ वटा स्वास्थ्य इकाइ पनि छन् । टिमुरदह , गजेडी, बास्कोटा पुडासैन, डूमरीमा स्वास्थ्य सेन्टरहरु पनि छन् ।
अहिले पालिकामा स्वास्थ्यकर्मीहरुको उपलब्धता के छ रु कति संख्यामा स्वास्थ्यकर्मी छ्न् ?
हामीसंग एच।ए।, अहेब , ए एन एम ,ल्याब टेक्निसियन इत्याद गरेर ७० जना स्वास्थ्य जनशक्ती छ । जनतालाइ यस कहरबाट कसरी बचाउने भनेर जिल्ला स्तरमा हामीले सुरक्षा निकाय सहित सबै संग छलफल गरेका छौ । यहि २१ गते कार्यपालिका बैठक पनि बोलाएको छौं ।
कोरोना भाइरस दिनप्रतिदिन बढ्ने क्रममा छ रु स्थिति भयावह नहोस भन्नका लागि क्वारेन्टाइनको व्यवस्था के छ ?
हामी क्वारेन्टाइनकै बारेमा छलफल गरिरहेका छौं । हामीसंग क्वारेन्टाइन व्यवस्थापनका लागि बजेट नभएता पनि परिस्थितीको गाम्भीर्यतालाइ मध्य नजर गर्दै क्वारेन्टाइनको व्यवस्था गछौं । स्थिति गम्भिर छ किन कि पुर्वी चौकीका रोगारीका लागि भारत जानेहरु गाँउ फर्कने क्रमजारी छ ।
कोरोना भाइरस समुदायस्तरमा नफैलिओस भन्नका लागि के गर्नु हुन्छ ?
सब भन्दा पहिले त भारत बाट आउनेहरुलाई कैलाली कञ्चनपुर नाकामा आवस्यक जाँच गरिन्छ । जिल्ला पुगे पछि सुरक्षा निकायले हामीलाइ खबर गर्छ । त्यस पछि हामी उहाँहरुको स्वास्थ्य अवस्था के छ सम्पुर्ण पृस्ठभुमि र हिस्टिको रेकर्ड राख्छौं ।
गम्भीर विरामीहरुलाइ अन्यत्र रिफर गर्नु परे के व्यवस्था गर्नु भएको छ ?
हामी संग १ एम्बुलेन्श र २ वटा बसहरु छन् । ठूलै संख्यामा संक्रमण भएमा बसलाइ पनि परिचालन गर्नु पर्ने हुन्छ । हामी संग शब बहान छैन । हामी संग अक्सिजन पनि छैन । अब अक्सिजनको सम्बन्धमा बैठकमा छलफल गछौं । हामी संग भएको एम्बुलेन्स र बसको प्रयोग गर्छौ । हामीले रिफर गर्ने भनेको जिल्ला अस्पताल हो । जिल्ला अस्पतालले अन्यन्त्र रिफर गरेमा गाँउ पालिकाले नै आवस्यक व्यवस्था मिलाउछ ।
महामारीको बेला गलत सुचनाले जनतामा त्रास फैलिन्छ । सूचना प्रवाह प्रभावकारी र सहि होस भन्नका लागि के गर्नु भएको छ ?
जथाभावी नहिड्न भिडभाड नगर्न मास्क प्रयोग गर्ने सामाजिक दुरी कायम गर्ने जस्ता सन्देशहरु विभिन्न माध्यमबाट दिइरहेका छौ । हाम्रो पालिकामा त्यस्तो त्रासको माहोल छैन । हामी जनतालाइ सत्य र तथ्यमा मात्र विस्वास गर्न अनुरोध छौं । हामी आत्तिन हुदैन भनेर जनतालाइ विस्वस्त बनाउछौं ।
भोलि यदि संक्रमणको दर बड्दै गयो । संक्रमितहरु होम आइशोलेसनमा नै बस्नु पर्ने अवस्था आएमा ती संक्रमितहरुलाइ कसरी सेवा पुर्याउनु हुन्छ ?
वडा लेभलमा वडा अध्यक्ष स्वास्थ्यकर्मी रहेको कमिटी छ । यसले होम आइसोलेशनमा बसेका बिरामीहरुको अनुगमन गर्छ । यो कमिटीलाइ अझ सक्रिय बनाउनु पर्ने आवस्यकता देखिन्छ । आइसोलेशनमा बसेकाहरुका लागि हामीले पालन गर्नु पर्ने मापदण्ड बनाएका छौं । त्यसको पालन गर्नु पर्छ । आइसोलेशनमा बसेर मापदण्ड पालन नगरे त्यस्को सार्थकता रहदैन ।
संक्रमण बड्दै गएमा जनता घर बाट बाहिर गएर काम गर्ने वातावरण हुदैन यस्तो अवस्थामा विपन्न वर्गहरुका लागि खाद्यन्न र राहतका लागि के व्यवस्था गर्छ पालिकाले ?
दैनिक ज्यालादारी हातमुख जोर्ने वर्गका लागि खाद्यन्न र राहतको व्यवस्था हामी गछौं । जनतालाई भोकै रहन दिदैनौं । बजेट काटेरै भए पनि हामी व्यवस्था गछौं सरकारको काम नै जनताको सुरक्षा हो ।
कोरोना भाइरस कोभिड १९ को दोस्रो लहरले पालिकामा भयाभहको रुप नलिओस भन्न के रणनीति अपनाउनु भएको छ ?
घर बाट बाहिर ननिस्कने , भिडभाड नगर्ने ,भौतिक दुरि कायम गर्ने , सर्तकता अपनाउने तर्फ जनतालाइ जिम्मेवार बनाउन तर्फ कटिवद्द छौं । विदेशबाट या पालिका बाहिर बाट आउनेलाई चेक जाँच गरेर मात्र घर पठाउने नीति लिएका छौं । हामी यहि विधी बाट अगाडी बढ्छौं ।
पालिकामा भ्याक्सिन लगाउनेको संख्या के छ ?
स्वास्थ्यकर्मी सबैले भ्याक्सिन लगाइसकेका छन् । गाँउपालिकाका कर्मचारीले पनि सवैले भ्याक्सिन पाएका छन् । बर्ष माथिका ६० वर्ष माथिका वृद्द वृद्दाले पनि भ्याक्सिन पाइसकेका छन् । सुरक्षाकर्मी र जनप्रतिनिधीले पनि भ्याक्सिन पाइसकेका छन् ।
पुरै पालिकाका जनतालाई कहिलेसम्म भ्याक्सिन लगाउने योजना छ नि ?
गाँउपालिकाले चाहेर पनि यो गर्न सक्दैन । यो नेपाल सरकारको विषय हो । जनताले भ्याक्सिन पाउनु पर्छ भन्ने हाम्रो मान्यता हो । कोभिड महामारी समग्र विश्वको चुनौती हो । विश्वमा विभिन्न कालखण्डमा विभिन्न महामारी देखिएका छन् कोरोनाबाट पार पाउनु हामी सबैको साझा चुनौती हो । नेपाल सरकारले प्रभावकारी भ्याक्सिन अभियन चलानु पर्छ । सम्पुर्ण जनताले भ्याक्सिन लगाउन पाउनुपर्छ । तत्कालिन रुपमा भन्नुपर्दा यस बर्षको बजेट योजना निर्माण गर्दा कोरोनालाइ मध्ये नजर गरेर गछौं । हामी केहि समयका लागि मानवीय मुभमेन्ट अलि कम हुनु पर्छ भन्ने पक्षमा छौं ।
पालिकाको मुख्य चुनौती के हो कोभिड नियन्त्रणका लागि ?
हामी संग अक्सिजन छैन , जनशक्तीको अभाव छ । हामी संग आइसोलेशन बेडको पर्याप्त व्यवस्था छैन । बजेटको अभाव मुख्य हो ।
अन्तमा पालिकाका जनतालाई केही भन्न छ ?
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले हामीलाई दुख दिइरहेको छ । हामी आफु बाच्न र अरुलाइ बचाउनका लागि न्युनतम स्वास्थ्य मापदण्डको पालना गरौं । जस्तै कि स्यानीटाइजरको प्रयोग ,मास्कको प्रयोग गर्ने ,साबुन पानीले हात धुने , अनावस्यकरुपमा घर बाट बाहिर ननिस्कने, भिडभाड नगर्ने ,सभा समारोह , जात्रा इत्यादी गतिविधी नगर्ने यी सबै हाम्रा कर्तव्य भित्र पर्छन् । म देश विदेशमा रहेका सबैलाइ केहि समय आफू जहां छौं त्यहि सुरक्षित बस्न अपिल गर्दछु ।
२० वैशाख २०७८, सोमवार १८:२० बजे प्रकाशित