सेती प्रादेशिक अस्पताल हिजोको जस्तो छैन, नमूना अस्पताल बनाउँछौं : अध्यक्ष शाह

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रदेशकै रेफरल अस्पतालका रुपमा रहेको छ । प्रदेशका अन्य अस्पतालमा आवश्यक सेवा सुविधा हुन नसक्दा सेती प्रादेशिक अस्पतालमा विरामीको चाप बढी हुन्छ । अन्य अस्पतालहरुबाट पनि विरामीहरु रिफर गरेर प्रादेशिक अस्पतालमै पठाइन्छ । विरामीको अत्याधिक चापले गर्दा अस्पतालमा सेवा लिन समय कुर्नुपर्ने अवस्था छ । बिरामीको चापलाई मध्येनजर गरेर प्रदेशकै प्रमुख अस्पतालमा सेवा विस्तार हुन भने सकेको छैन । विरामीलाई आवश्यक सेवा प्रवाह गर्न नसक्दा प्रदेश बाहिरका अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता विगतदेखि नै छ । अस्पताल व्यवस्थापन समितिमा नयाँ नेतृत्व छ । समितिका अध्यक्ष नरबहादुर शाहले अस्पताल सुधारका लागि आफ्नो कार्यकालको दुई वर्षको अवधिमा थुप्रै प्रयासहरु गरेको दाबी गरेका छन् । प्रस्तुत छ, अध्यक्ष शाहसंग मर्निङ बेलका रक्षा बाग्चनले गरेको कुराकानीको सम्पादित अंश:

अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भएको दुई वर्ष भएको छ, अस्पताल सुधारका लागि के–के काम गर्नुभयो ?
प्रश्नका लागि धन्यबाद, मैले अस्पताल व्यवस्थापन समितिको नेतृत्व लिइसकेपछि थुप्रै सुधारका कामहरु भएका छन् । अस्त व्यस्त अस्पताललाई व्यवस्थित गरेका छौं । अस्पकालिन र दीर्घकालिन योजना बनाएर अघि बढेर कामहरु गरिरहेका छौं । सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने कुरामा ध्यान दिएका छौं । ओपीडीलाई व्यवस्थित गर्यौं । टोकन सिस्टममा रुपान्तरण गर्यौं ।
पाँच बेडको आईसीयुलाई १० बेड थपेर १५ बेडको बनायौं । एनआईसीयुलाई पनि व्यवस्थित गर्यौं । डाइलोसिस दुई बेडबाट १७ बेडमा लगेका छौं । सिटिस्क्यान थिएन, थप्यौं । एमआरआई पनि सुचारु भइरहेको छ । अपरेशन कक्षमा पनि सुधार गरिएको छ । यो सेवा लिनका लागि विगतमा यहाँका बिरामीहरुलाई बाहिर जानुपर्ने अवस्था थियो । अब त्यो समस्या समाधान भएको छ ।
विस्तारित स्वास्थ्य सेवालाई पनि बढाइएको छ । अपरेसनमा डेढ÷दुई वर्ष पालो कुर्नुपर्ने अवस्था छैन । इमर्जेन्सी भनेको अस्पतालको फेस हो । अहिले त्यसलाई व्यवस्थित गरिएको छ । इमर्जेन्सीमा पालो पाइएन भन्ने अवस्था छैन । फार्मेसीलाई पनि विस्तार गरेर पुरै भवनमा विस्तार गरिएको छ । ल्याबलाई पनि पुरै भवनमा बनाइएको छ । जनशक्ति व्यवस्थान पनि गरिएको छ । प्रशासनमा सुधार ल्याइएको छ । ८० वर्षसम्म अस्पतालको पुर्जा थिएन । अहिले पुर्जा बनाइएको छ ।
अब हामीले गर्नुपर्ने काममा कुरुवा बस्ने घर, व्यवस्थित क्यान्टिन, व्यवस्थित क्याबिन, शवगृह लगायत छन् । त्यसका लागि हामी योजनाबद्ध तरिकाले अघि बढिरहेका छौं ।
नर्सिङ कलेज बनाउने योजना पनि अघि बढिसकेको छ । खानेपानीलाई व्यवस्थित गर्नुपर्ने छ । काम अघि बढिसकेको छ ।

सेती अस्पतालको बिरामीको चाप घटाउन अस्पतालमा चाप उस्तै छ, लाइन बस्नुपर्ने अवस्था उस्तै छ, यसलाई व्यवस्थित कसरी गर्न सकिन्छ ?
यसका लागि सर्वप्रथम स्वास्थ्य सेवाहरु विकेन्द्रीकृत हुनुपर्यो । सबै जिल्ला र क्षेत्रका अस्पतालहरु व्यवस्थापन हुनुपर्यो । विरामीहरु पनि बाँडिन्छन् । महाकाली अस्पताल, टिकापुर अस्पताल, डडेल्धुरा अस्पताल, बयालपाटा अस्पताल, सबै जिल्ला अस्पताल व्यवस्थित हुनुपर्यो । गेटा मेडिकल कलेज सुरु हुनुपर्यो । अनि सबै विरामीले सेती अस्पतालमै आउनुपर्छ भन्ने छैन । अहिलेको अवस्थामा सबै विरामीको उपचार गर्ने ठेक्का सेती प्रादेशिक अस्पतालकै हो जस्तो देखिएको छ । तर पनि बिरामीलाई त्यसै फर्काएका छैनौं। जसरी पनि बिरामीको उपचार गरेका छौं ।

फेरि नयाँ उपकरण थप्ने योजना बनाउनुभएको छ कि ?
अहिले तत्काल उपकरणहरु थप्ने योजना भने छैन । तर विभागहरु थप्ने योजना बनाएका छौं । क्याथल्याब, मेमोग्राफी स्थापना गर्ने योजना छ । साइक्याटिक, मुटुरोग सम्बन्धी विभाग छैन । यी विभाग पनि स्थापना गर्नुपर्ने छ । मुटुरोग विशेषज्ञ डाक्टर भएपनि व्यवस्थित विभाग बनाइएको छैन । त्यसका लागि हामी लागिरहेका छौं ।

अपरेशन गर्न धेरै समय कुर्नुपर्ने अवस्था छ, यसलाई सुधार गर्न सकिँदैन ?
अपरेशन अहिले हप्ताको दुई दिन मात्रै भइरहेको छ । हप्तामा चार जना विरामीको अपरेशन गर्न सकिन्छ । महिनामा २८ जनाको अपरेशन भइरहेको छ । यसलाई बढाउन सबै जनशक्ति, वार्ड चाहियो । अहिलेको अवस्थामा अपरेशन वार्डमा ४८ बेड छन् । यो सेवा विस्तार गर्न सबै जनशक्ति र थप वार्ड र बेड चाहिन्छ । अहिले बढाउन सकिएको छैन । त्यो भविष्यमा विस्तार हुँदैगर्छ ।

अस्पतालले अब नर्सिङ अध्ययन गराउने योजना पनि छ भन्नुभयो कहिलेदेखि सुरु हुन्छ ?
हामीले दुई वर्ष अघि नै यसका लागि सीटीईभीटीमा प्रस्ताव पेश गरिसकेका छौं । यो वर्ष चाहिँ मन्त्रालयबाट एक सय बेड भन्दा माथिको प्रादेशिक अस्पतालहरुले नर्सिङ चलाउने भएपछि सम्पर्कमा आउन आह्वान गरेपछि हामीले प्रस्ताव पेश गरेका छौं । आगामी वर्षदेखि चलाउने कोशिस गर्नेछौं ।

विगतमा अस्पताल सरसफाईको अवस्था नाजुक थियो, अहिले के छ अवस्था ?
विगतमा अस्पतालमा सरसफाईको अवस्था राम्रो थिएन । पहिले गन्हाएको अस्पताल भनेर गुनासो आउँथ्यो । अहिले त्यो अवस्था छैन । अहिले बास्ना आउने अस्पताल बनाउने भनेका छौं हामीले । त्यो भइरहेको पनि छ । थप सुधार गर्दै जान्छौं ।

अस्पतालको पुरानो भवन भत्काउने र नयाँ संरचना बनाउने भन्ने योजना सुनिएको पनि वर्षौ भइसक्यो अझै अगाडि बढेको छैन किन ?
पुरानो भवन भत्काएर १० तले भवन बनाउने भन्ने योजना छ । त्यसका लागि डीपीआर भएको छ । तर अगाडि बढिरहेको छैन । हामीले मन्त्रालयमा योजना पेश गरेर माग गरेका छौं । यदि यो भयो भने झनै राम्रो हुन्छ ।

अस्पतालमा अहिले जनशक्तिको अवस्था के छ ?
अस्पतालमा जनशक्ति दरबन्दी, करार र अन्य कुनै कार्यक्रम मार्फत व्यवस्थापन गरिएको छ । दरबन्दीकै हिसावमा हो भने जिल्ला अस्पतालकै अवस्थामा छ । अहिले विरामीको चाप अनुसार चिकित्सक लगायत जनशक्ति कम्ती नै छ । तर व्यवस्थापन गर्ने प्रयास गरेका छौं ।

अस्पतालको सूचना प्रणालीलाई कसरी व्यवस्थित गर्नुभएको छ ?
हामी अहिले एकीकृत सूचना प्रणालीमा गएका छौं । अस्पताल भित्र एक ठाउँमा बोलेपछि सबै वार्डमा सूचना पुग्छ । केही डिजास्टर वा आपत्ति आइपर्यो भनेपनि सबै वार्डमा सूचना पुर्याउन सकिन्छ । सुझाव तथा गुनासा संकलनका लागि पनि क्यूआर कोर्ड सार्वजनिक गरेका छौं । यसमा स्क्यान गरेर सेवाग्राहीले आफ्नो सुझाव र गुनासा दिन सक्छन् ।

आफ्नो कार्यकालमा सेती प्रादेशिक अस्पताललाई कस्तो बनाउँछु भन्ने सोच्नुभएको छ ?
म सेती प्रादेशिक अस्पताललाई नमूना अस्पताल बनाउने योजनामा छु । त्यसका लागि सबैको सहयोग आवश्यक हुन्छ । ट्युनिङ मिल्नुपर्छ । सबै टीम एकजुट हुनुपर्छ । अहिले पनि धेरै सुधारका कामहरु भइसकेका छ्रन् । विभिन्न योजनाहरु पनि छन् । ती पूरा गर्न सरकारसंग आग्रह गर्छु ।


३० वैशाख २०८१, आइतवार १०:०३ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु