प्रदेश सरकारसंग न नीति छ न नियत नै : डा.रावल
डा. रणबहादुर रावल
सुदुरपश्चिम प्रदेशसभा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता तथा विपक्षी दलका नेता डा. रण बहादुर रावल एक मृदुभाषी , सरल तर स्पष्ट विचार राख्ने कुशल नेता मानिनु हुन्छ । उहाँ थिङ्क ट्याङ्क मानिनु हुन्छ पार्टी भित्र । प्रस्तुत छ मर्निङ बेल मिडिया हाउसकि रमा भट्टराईले डा. रण बहादुर रावल संग राजनीति ,राष्ट्रवाद ,जवाफदेहिता र नेतृत्व लगायत बिषयमा गरेका कुराकानीको सम्पादित अंश
म नेपालको वर्तमान राजनीतिक घटनाक्रमका बारेमा कुरा गर्ने छैन। जनता वर्तमान राजनितीक घटनाक्रमबाट आजित भएका छ्न । दिनहु हुने राजनीतिक घटना क्रममा जनतालाई खासै चासो छैन । मेरो पहिलो प्रश्न नेपालको वर्तमान राजनीतिक स्तरलाई कसरी मापन गर्नुहुन्छ ?
देशमा अहिले राजनीतिक तरलता छ । इतिहासकै गम्भीर मोडमा छौँ । नेपाली काङ्ग्रेसले २०७२को संविधान कार्यान्वयनका लागि हाम्रा श्रद्देय नेता शेरबहादुर देउवा लगायत अन्यले त्याग देखाउनु भयो । फलस्वरूप चुनाव भयो । गणितीय हिसाबले कांग्रेस पछाडी परे पनि संबिधान कार्यान्वयनलाई प्रमुख प्राथमिकता राख्यो । तर नेकपाले केन्द्रमा प्रदेशहरुमा बहुमत पाएर पनि जनताको मतको अवमूल्यन गर्यो । स्वेच्छाचारीता , अधिनायकवादको अभ्यास गर्न जनताले नेकपा र एमालेलाई भोट दिएको होइन । उहाहरुले संघीय संसद विघटन गर्नु भयो । संबिधान माथि यो भन्दा ठूलो प्रहार हुन सक्दैथ्यो । यो लोकतन्त्रलाई असफल बनाउने षड्यन्त्र हो। अहिलेको तरल अवस्थाको जिम्मेवार कोहि हो भने सम्माननिय प्रधानमन्त्री नै हो उहाँको अहंकार नै हो ।
भनिन्छ वर्तमान राजनीतिक बेथितिको सुत्रधार २०४६ को राजनीतिले गरेको थियो ।
हामीले २०४६ साललाइ मात्र जोड्यौ भने ऎतिहासिक भुल होला जस्तो लाग्छ । हाम्रो राजनीतिलाइ २००७ भन्दा अगाडी देखि नै हेर्नुपर्छ । लोकतन्त्रका लागि हामीले ठुला त्याग र समर्पण देख्न पायौं । जब जब जनता माथी दमन गरियो आन्दोलन भए । महामानव बिपी कोइराला लगायत अन्यले जनतालाइ दासबाट नागरिक बनाउन खेलेको भुमिका छर्लङ्गै छ । हामीले के बुझ्नु पर्छ भने २०४६ साल पछि जसरी लोकतान्त्रिक संस्कारले देश चल्न पर्थ्यो चलेन यस्को दुस्परिणाम हामीले देखेउ ।१७००० भन्दा बढी नागरिकले ज्यान गुमाए , हत्या गरियो । २०६२-६३ को आन्दोलन पछि राजतन्त्रलाई अन्त्य गरियो । जनता सर्वोच्च भए । तर राजनीतिले जनताको हितमा काम गरेन , गर्न सकेन वर्तमान पनि यस्तै छ ।
अहिलेको समस्या के हो ?
पाँच वर्ष देशको बागडोर सम्हाल्ने अवसर प्राप्त गरेर सो अवसर जनताको हितमा प्रयोग नगर्नु ,स्वेच्छाचारी ढंगले हरेक निकाय र इन्स्टिट्युशनहरु चलाउनु , देशका प्रधानमन्त्रीको यस्तो शैली नै वर्तमान वेतिथीको जिम्मेवार हो । प्रधानमन्त्रीको अहंकारको उचाइको त कुरै नगरौं ।
यसको भागिदार कांग्रेस हो कि होइन ?
कांग्रेस भन्दा पनि यसको प्रमुख नायक या अनुहार प्रधानमन्त्री र केही हद सम्म राष्ट्रपति हुन । र यस जटिल समस्यामा रुमलिएर निकास दिन नसक्नुमा प्रमुख नेताहरु पनि जिम्मेवार हुन ।
नेपाली नेता र राजनीतिक दलमा जवाफदेहिताको शुन्यता देखियो । कहाँ बाट ल्याउने यो जवाफदेहिता ?
जहाँ समस्या हुन्छ त्यहा समाधान हुन्छ अहिले जवाफदेहिता नहुनुमा नैतिकताको खडेरी हो । देर इज अ डेफिसिट अफ मोरयालिटी । नैतिकवान नेताले प्रश्चय पाउनु पर्ने हो । नैतिकता भए जवाफ देहिता आफै आउँछ । नैतिकताको अभ्यास अब घर घर बाट हुनुपर्छ । लोकतान्त्रिक चरित्र अपनाउन पर्छ तल्लो देखि माथिल्लो तह सम्म । जनताले मतदान जिम्मेवारी पुर्वक गर्नु पर्छ । मतदान पबित्र कर्म हो । अबको मतदान लोकतन्त्रको रक्षार्थ हुनुपर्छ । देश हितको लागि हुनुपर्छ जवाफदेहीता यसरी निर्माण गर्न सकिन्छ ।
हाम्रो चुनावी प्रणाली , संस्कार भ्रस्टाचारको एउटा प्रमुख कारक हो भन्ने धेरैको बुझाइ छ । मान्नुस या नमान्नुस नेपाल लगायत दक्षिण एशिया देशमा पैसा खर्छ नगरेर चुनाव जित्न सकिँदैन । चुनावमा खर्च गरेको पैसा निर्वाचित भए पछि असुल गर्ने प्रवृत्तिले भ्रस्टाचार बढेको छ । अब हाम्रो चुनावी प्रणाली माथी पुनर्विचार गर्नु पर्ने बेला होइन र ?
यहाले भन्नू भएको कुरा व्यवहारमा देखिएको सत्यता हो । दक्षिण एशिया विशेष गरि नेपाल यसबाट अछुतो छैन । चुनाव लोकतन्त्रको सौन्दर्य हो । मतदानको विकल्प छैन हाम्रा मतदातालाई शिक्षित पार्नु पर्छ । चेतनशील बनाउनु पर्छ । भोटर एजुकेसनले चेतना दिनु पर्छ । सही र गलतको पहिचान गर्ने क्षमता दिनुपर्छ । समस्याबाट बिचलित हुने होइन कमजोरी हटाउने हो । भोट स्वेच्छाचारीता र अधिनायकवाद खडा गर्न प्रयोग हुनु हुदैन ।
यहांले स्वेच्छाचारीता बढेको कुरा गर्न भयो यसलाइ बढावा दिनमा तपाइहरुको मौनता पनि जिम्मेवार छैन र ? तपाईहरुले प्रतिपक्षको धर्म राम्ररी ननिभाएकै हो ?
प्रतिपक्षको धर्म तोडफोड गर्नु , टुडीखेलको वार तोड्नु ,आगजनी गर्नु हो भने त्यो हाम्रो धर्म होइन । हामी निर्माणमा बिश्वास राख्छौं हामी अहिंसाको शक्तिमा विश्वास राख्छौं । हामीले त्यही सिद्धान्तमा आधारित भएर वर्तमान सरकारको स्वेच्छाचारीताको हर मोर्चामा विरोध गरेका छौं । प्रधानमन्त्रीको संघीय संसद विघटनको असंवैधानिक कदमको विरोधमा अग्र मोर्चामा रहयौं । वडा देखि केन्द्र सम्म हामीले व्यापक जागरण ल्यायौं ।संविधानवादको पक्षमा जनमत तयार गर्यौ । हामी कसरी मौन भयौं ।
सुदुर पश्चिम प्रदेश कानुन निर्माणमा लागिरहेको छ । कानुन निर्माणमा जनताको सहभागिता हुनुपर्छ । किन भने कानुनका दुरगामी परिणाम हुन्छन । तपाईंहरुले कानुन निर्माणमा जनसहभागिताका लागि के गर्नु भयो ?
हामीले अहिले सम्म ३९ वटा ऎन बनाइ सकेका छौं । कानुन निर्माण प्रक्रियामा नेपाली कांग्रेस संसदीय दलले बिज्ञ,नागरिक समाज , सर्वसाधारण संग औपचारिक ,अनौपचारिक छ्लफल चलाएको छ । कानुन निर्माणमा जनताको संलग्नता भए रुल अफ ल संस्थागत हुन्छ । कानुनको सम्मान र पालना गर्ने संस्कार बस्छ भन्ने हाम्रो मान्यता हो । विडम्बना भनौ या त्रासदी नेकपा र मौजुदा प्रदेश सरकार कानुन निर्माण गर्न होइन त्यसलाई तोड्न , मरोड्न पारंगत भएको छ । यो बिधीको शासनको उपहास हो । उहाँहरु संग न नीति छ न नियत नै आफ्नो र आफ्नाहरुको स्वार्थ पूरा गर्न यतिका वर्ष खर्च भयो । इट इज स्याड ।
नेपाली राजनीतिको कुरा गर्दा छुटाउनै नमिल्ने नाम वि. पी. कोइराला । उहालाइ तपाईहरुले नारामा मात्र सिमित गरिदिनु भयो । कति जना कार्यकर्तालाइ वि.पी.को सिद्धान्त र जीवनका बारेमा प्रशिक्षण दिनु भएको छ ?
यहांले वि.पी. बाबुको नाम लिनु भयो म आभार व्यक्त गर्न चाहन्छु । नेपाली कांग्रेस वि.पीको आदर्शमा निर्मित पार्टी हो । सक्रिय सदस्यता दिदा पनि पार्टी र त्यसको सिद्धान्त बुझेकालाई दिने हाम्रो उद्देश्य हुन्छ । वि.पी.को समाजवादको बारेमा पनि हामीले प्रशिक्षण दिने गरेका छौं । यो प्रयाप्त नभएको होला । हामीले उहाका सिद्धान्तलाई व्यवहारमा उतार्न मेहनत गर्नुपर्छ गर्छौं ।
वि.पी.ले राष्ट्रियता नेपालको सन्दर्भमा भन्ने निबन्धमा आफुलाइ निर्माण अर्थात स्वनिर्माण गर्नु राष्ट्रियता भएको भावना व्यक्त गर्नु भएको छ । आफ्नो दुर्दशाको जिम्मेवारी पडोशी या छिमेकीलाई ठान्ने राजनीतिक मनोरोगबाट मुक्ति कत्तीको जरुरी छ ?
हो देशको राजनीति जियो पोलिटिकल अवस्था बाट अछुतो हुदैन विश्व राजनीतिको प्रभाव हुन्छ ।यसका वाबजुद आफ्नो देशको निर्माण आफै गर्ने सामर्थ्य राख्नु राष्ट्रियता हो । राष्ट्रियता देशको समस्या समाधान गर्नमा हुन्छ । गरिवको घरमा चुलो जलाउनमा हुन्छ , महिलाको सम्मानमा हुन्छ , राष्ट्रियता सुन्दर हुन्छ । यो नारा बन्न हुन्न । अन्धराष्ट्रवाद अधिनायकवाद तर्फको बाटो हो । राष्ट्रवाद देश र जनता प्रती गरिने कर्ममा झल्किनु पर्छ । मेरो बुझाइ र अध्ययनले यहि भन्छ ।
वि.पी.ले क्रान्ति एक अनिवार्यता भन्नू भएको छ । यसको शाब्दिक अर्थ भन्दा पर गएर बृहत रुपमा लिने हो भने लोकतन्त्रको अभ्यास त अब राजनीतिक पार्टीहरु भित्र हुनुपर्ने देखिन्छ । पार्टीहरु भित्र चरीत्र बदल्ने रिइन्भेन्ट गर्ने समय आएको होइन र ? विपी कै शब्दमा नेपाली राजनीतिक दल भित्र क्रान्ति कत्तिको आवस्यक छ ?
निश्चय पनि विभिन्न लिटरेचरले क्रान्तिलाई आफ्नै तरिकाले व्याख्या गरेका छ्न । विपीले सोचेको नेपाली कांग्रेस गरिब , कमजोर र न्यायका पक्षमा उभिने सबैको हो । उहाँले त्यो जमानामै समावेशीताको अभ्यास गर्नु भएको थियो । धनमानसिंह परियारलाई सभापति बनाउनु भयो । यो कतिपयलाइ टोकनिजम लाग्न सक्छ तर यो एउटा चेतनशील सोचको उपज हो । आज यहि विपीको चेतनशीलताको खांचो छ ।
तपाईं सुदुरपश्चिमको संभावना बोकेको नेता अहिले राजनीति प्रती बितृष्णा र निराशा छ । मानिसहरुको आशा र बिश्वास जगाउन के गर्नु हुन्छ ?
दुनियाँ आशामा टिकेको हुन्छ ।आशा टुट्नु पिडादायक हुन्छ । तर के पनि हो भने हामी जस्ता नेताको जिम्मेवारी जनतामा आशा जगाउनु हो ।आशालाइ कामद्वारा मुर्तरुप दिएर विश्वासमा परिणत गर्नु हो । सुदुरपश्चिम संभावनाको थलो हो । सही हातमा परे सुदुर सुन्दर मात्र होइन सेन्टर अफ डिभेलपमेन्ट हुन्छ । वेतिथी आउँछ ,समस्या आउँछ तर हामी सबैले आफ्नो कर्म सुधार्यौ भने यस स्थितिबाट सजिलै पार पाइन्छ । यो भन्दा अर्को विकल्प पनि छैन । लोकतन्त्रको विकल्प हुन सक्दैन लोकतन्त्रले मात्र दिगो विकास सुनिश्चित गर्न सक्छ ।
आफ्नो महत्त्वपूर्ण समयका लागि धन्यवाद डा. रावल
धन्यवाद रमा जी
१६ वैशाख २०७८, बिहीवार २१:२४ बजे प्रकाशित













