उत्तमका तीन उत्तम गजल

छन्द : भुजङ्गप्रयात
उजेलो कमै भो अँधेरो छदै छ।
दुवै छाक खाने पखेरो छदै छ।
हुँदै हुन्न प्यासी म बस्ने छु गाउँ,
न आए नि धारो पँधेरो छदै छ।
बचेरै बसौं है त कोवीड देखी,
करेत् ले डसेमा सपेरो छदै छ।
कतै हुन्न मैलो कुनै गाउँ बस्ती,
लगाएर बस्छौं कमेरो छदै छ।
न छानो छ राम्रो न दिन्छन् दवाई,
झरीमा न भिज्ने कटेरो छदै छ।
छन्द : भुजङ्गप्रयात
म बन्ने छु बन्दा तिमी हुन्न भन्छौ।
सगै जाउँ भन्दा तिमी हुन्न भन्छौ।
दिए हुन्छ कर्जा सकेमा तिरौला,
नराखे त भाका तिमी हुन्न भन्छौ।
दिदै जान्छु छाया म हो एक वृक्ष,
दिदा बस्न हाँगा तिमी हुन्न भन्छौ।
न दिन्छौ त उर्जा न मान्छौ भनेको,
म बन्दै छु छाडा तिमी हुन्न भन्छौ।
म देखौं परी झै सधै जिन्दगीमा,
किनेको छु फाहा तिमी हुन्न भन्छौ।
बसेरा किनेरै बसौला खुसीमा,
मलाई छ आशा तिमी हुन्न भन्छौ।
न भो है सुबिस्ता न छुट दिन्छ राष्ट्र,
छले हुन्छ नाफा तिमी हुन्न भन्छौ।
रुपै मोहनी छौ छ मुस्कान उस्तै,
म गर्ने छु धावा तिमी हुन्न भन्छौ।
सबै काम बन्ने इरादा म बोक्छु,
न छोड्ने म बाचा तिमी हुन्न भन्छौ।
छन्द : दिक्पाल
राख्दै छु नाम तिम्रो जानेर जूनकीरी।
मन्थन गरेर लाखौं छानेर जूनकीरी।
छौ रे त मर्म जान्ने खोल्दै रहस्य सारा,
दुर्बोध तत्व बुझ्छिन् ठानेर जूनकीरी।
प्राणी बनेर तन्मा गर्जन अनेक देख्छु,
आत्मा पिलाइ दिन्छे तानेर जूनकीरी।
केही त छैन लाने बाँच्दै बचाइ खाने,
बन्छिन् परो(पकारी धानेर जूनकीरी।
उत्साह तेज हासो सत्कार जिन्दगीमा,
चम्काइ देउ धर्ती मानेर जूनकीरी।
उत्तम शर्मा ‘दर्शन’
पाँचखाल ३ काभ्रे
२४ माघ २०७७, शनिवार १२:५८ बजे प्रकाशित