नेकपा दाहाल – नेपाल समूहको माइतीघरमा धर्ना
नेकपा दाहाल – नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघरमा धर्ना दिएको छ । बुधबार दाहाल–नेपाल समूहका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरूले माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।
असंवैधानिक रूपमा प्रतिनिधि सभा विघटनगरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउनको निम्ति धर्ना बसेको समूहकी स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य पम्फा भुसालले जानकारी गराइन । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको उनले बताइन ।
जनताले आफ्नो प्रतिनिधिमार्फत बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आम जनता धर्नामा बस्नुपर्ने आवश्यकता रहेको विघटित प्रतिनिधि सभाका सदस्य हरिबोल गजुरेलले जानकारी गराए । संविधानको रक्षा गर्न र जनतालाई संविधानको रक्षाको निम्ति आउने विश्वासका साथ धर्नामा बसेको उनले बताए ।
बुधबारदेखि सुरु भएको यस धर्ना शनिबार बाहेक २१ गतेसम्म प्रत्येक दिन २ घण्टा बस्ने बताइएको छ ।
१४ माघ २०७७, बुधवार १५:२७ बजे प्रकाशित













