भन्सार चुहावट रोक्न निजी क्षेत्रले सघाउनुपर्छ : अर्थमन्त्री पौडेल
६९औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा मंगलबार भन्सार विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन । न्यून बीजकीकरण र चुहावट न्यूनीकरणका लागि निजी क्षेत्रले भन्सार प्रशासनलाई सहयोग गर्नुपर्ने जानकारी गराएका हुन् ।
निजी क्षेत्रका जायज समस्यालाई समाधान गर्न भन्सार प्रशासनले सहयोग गर्नुपर्ने उनले बताए । निजी क्षेत्र र भन्सार एक सिक्काका दुई पाटा भएको उल्लेख गर्दै उनले दुईमध्ये एक नहुादा भन्सार प्रणाली नै नरहने उनको भनाइ छ । भन्सार प्रणालीलाई आधुनिकीकरण गर्ने प्रक्रिया अगाडि बढाउँदै प्रणालीलाई प्रविधि–अनुकूल बनाउँदै लैजानुपर्नेमा पनि अर्थमन्त्री पौडेलले जोड दिएका छ ।
कार्यक्रममा कुनै पनि वस्तुको भन्सार मूल्यांकन र वर्गीकरणको समस्या छिटो समाधान हुनुपर्ने माग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए। तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा दुई तहको फरक हुने व्यवस्था गर्नुपर्ने उनले जानकारी गराए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व व्यापार संगठनको सिद्धान्तअनुसार भन्सार प्रशासनले वस्तुको कारोबार मूल्यलाई परिवर्तन गर्न नपाउने जानकारी गराए ।
भन्सार प्रशासनले व्यवसायीहरूलाई विश्वास गर्न नसक्दा वस्तुको मूल्यांकन र वर्गीकरणमा समस्या हुने गरेको अध्यक्ष श्रेष्ठको बताए । भ्याट, आयकरलगायत करका दरहरू घटाउनसमेत उनले बताए ।
१३ माघ २०७७, मंगलवार १३:५६ बजे प्रकाशित













