कोरोनाबारे गलत प्रचार गर्ने तीन जनालाई कारबाही

कोरोना भाइरस सङ्क्रमणबारे गत प्रचार गर्ने तीन जनालाई कारबाही गरिएको छ । लमजुङको बेँसीशहर नगरपालिका वडा नं. ७ का ४० वर्षीय पुरुष, ४५ वर्षीय महिला र वडा नं. ११ का २९ वर्षीय पुरुषलाई आइतबार जिल्ला प्रशासन कार्यालयमै बोलाएर जरिवाना गराइएको छ ।

उनीहरुबाट कारबाहीस्वरुप प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिवाना गराइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । सामाजिक सञ्जाल र कोरोना सङ्क्रमित परिवारलाई भेटेर कोरोनाका बारेमा गलत प्रचार गर्ने, कोरोना सङ्क्रमित परिवारलाई अपहेलना गर्ने र समाजमा अनावश्यक भ्रम फैलाउने गरेकाले पहिलो पटक उनीहरुलाई कारबाही गरिएको उनले बताए ।

सङ्क्रमण रोग ऐन, २०२० को दफा (२) विरुद्धको गतिविधि गरेको र उनीहरुलाई छ महिनासम्म कैद सजाय हुने व्यवस्था छ । तर, पहिलो पटक भएकाले तीन जनालाई कारबाही स्वरुप जरिवाना गरेर छाडेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।


२८ भदौ २०७७, आइतवार १९:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु