मुक्तकमैया बस्ती : दुई सय जनाका लागि तीनवटा सौचालय
दिनेश बिष्ट
धनगढी, साउन १०/ देश नै खुला दिसामु्क्त भइसकेको छ । खुला दिसामुक्त जिल्ला अभियान अन्तर्गत कैलाली पनि खुला दिसामुक्त भएको दुई वर्ष बढी वितिसकेको छ । जिल्ला मात्रै नभई देशनै खुला दिसामुक्त भइसक्दा पनि कैलालीका बिपन्न बस्तीमा भने सौचालय अभाव भएको छ ।
जसले गर्दा जिल्ला खुला दिसामुक्त भएको कुनै अर्थ नभएको देखिनछ । विपन्न बस्तीमा त्यहाँको जनसंख्याअनुसार संयुक्त सौचालयको पनि अभाव भएको छ । उदाहरणहरणकै रुपमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ स्थित मुक्त कमैया शिबिर । शिबिरमा व्यक्तिगत सौचालयको अभावमा उनीहरुले प्रयोग गर्ने सार्वजनिक सौचालय पनि अपुग भएको छ ।
मुक्त कमैया शिबिरमा ३७ परिवारको बसोबास छ । ३७ परिवारका करिब दुई सय भन्दा बढी व्यक्ति छन् । तर, उनीहरुका लागि तीनवटा संयुक्त सौचालय पनि अपुग भएको छ । बिगतमा खुला रुपमा दिसा पिसाव गर्ने मुक्त कमैयाहरुलाई पनि प्रयोग गर्न दिनेगरी केही दिनअघि मात्र सो क्षेत्रमा तीनवटा सार्वजनिक सौचालय निर्माण गरिएका हुन् ।
तीन वटा मात्रै सौचालयले सबैलाई नपुग्ने हुँदा धेरैले खुला रुपमै दिशापिसाप गर्नुपरेको स्थानीयले बताएका छन् । पानी, बिजुली अभावसंगै सौचालयसमेत नहुँदा निकै समस्या भएको ममतादेवी डंगौराले बताइन् । कोरोना भाइरसको त्रास रहेका बेला मुक्त कमैया बस्तीका बासिन्दालाई तीन वटा सौचालय प्रयोग गर्न झन जोखिम भएको छ ।
मुक्त कमैया बस्तीका लागि सौचालय, विद्युत तथा पानीका लागि माग गरेपनि सम्बन्धित निकायले कुनै चाँसो नदिएको मुक्त कमैया शिबिरकी अध्यक्ष रतरानीदेवी चौधरीले बताइन् । उनले कमजोर र विपन्नका कुरा कम सुनुवाई हुने गरेको गुनासोसमेत गरिन् । गोदावरी नगरपालिका ५ स्थित निर्माणाधिन गेटा मेडिकल कलेजको जमिन रहेको सो स्थानमा मुक्त कमैयाहरु बस्दै आएका छन् ।
यस विषयमा गोदावरी नगरपालिकाले भने मेडिकल कलेजको जमिनमा बसेका मुक्त कमैयाहरुको स्थायी ब्यवस्थापन नभएकै कारण उनीहरु सेवा सुबिधाबाट पनि बञ्चित हुनुपरेको बताए । उनीहरुको स्थायी बसोबासका लागि जिल्ला प्रशासनसित पटक/पटक आग्रह गरिएपनि नभएकाले सो सुबिधाहरु दिन नसकिएको गोदावरी नगरपालिका ५ का अध्यक्ष कर्णसिहं बोहराको भनाई छ । उनीहरुको ब्यवस्थापन भए आवश्यक सुबिधा उपलब्ध गराइने उनले बताएका छन् ।
सरकारले कमैयाबाट मुक्त गरेपनि उनीहरुलाई स्थायी ब्यवस्थापन नहुँदा कमैयाबाट मुक्ति पाएको अनुभूति गर्न पाएका छैनन् । उनीहरुको स्थायी ब्यवस्थापन नहुँदा नत विद्युतनै जडान गर्न सकिएको छ, नत खानेपानी नै । सेवा सुविधाबाट बन्चित हुनुपरेपछि स्थानीयले आफूहरुको ब्यवस्थापनका लागि सम्बन्धित पक्षलाई गुहारिरहेका छन् ।
१० साउन २०७७, शनिवार ०५:२३ बजे प्रकाशित






























