गाईवस्तु जोगाउन जाँदा पहिरोमा पुरिए मृत्यु
धादिङ, साउन ९ । धादिङमा एक जनाको पहिरोमा परिएर ज्यान गएको छ । जिल्लाको थाक्रे गाउँपालिका ६ कार्की गाउँमा शुक्रबार बिहान २ बजे आएको पहिराले पुरिएर ५५ वर्षीय सानुबाबु पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए ।
उनकाअनुसार गोठ माथिबाट पहिरो आएपछि गाईवस्तु जोगाउन गएका पन्तको गाइवस्तुसँगै पहिरोमा पुरिएर ज्यान गएको हो ।
अविरल वर्षाका कारण धादिङमा गएको पहिरोले केहि दिन अगाडि मात्रै गजुरी गाउँपालिकामा २ की १७ वर्षीया निरुता परियार र त्रिपुरासुन्दरी गाउँपालिका ६ गोलाङमा एकै परिवारका मिलन खाँड उनकी श्रीमती सम्झना खाँड र दुई वर्षीया छोरी अञ्जिता खाँडको ज्यान गएको थियो । धादिङमा हालसम्म पहिरोका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।
९ साउन २०७७, शुक्रवार ०५:४९ बजे प्रकाशित































