प्रधानमन्त्रीको अभिव्यक्तिले भारतमा नेपालीमाथि दुर्व्यवहार
काठमाडौं, साउन २। प्रधानमन्त्री केपी शर्मा ओलीले भागवान रामको जन्मस्थानबारे दिएको अभिव्यक्तिले भारतमा रहेका नेपालीले दुर्व्यवहार भोग्नु परेको छ । भारतको वाराणसीमा एक नेपालीलाई बिश्व हिन्दु सेनाले कपाल मुन्डन गरेर दुर्व्यवहार गरेको छ ।
प्रधानमन्त्री ओलीले भानु जयन्तीका दिन एक रामको जन्मस्थल र उनी भारतवंशी भएकोमा प्रश्न उठाउँदै रामको जन्म नेपालमा भएको दाबी गरेका थिए ।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा विश्व हिन्दू सेना नामक संगठनले नेपाली युवकको कपाल मुन्डन गरेर टाउकोमा जय श्रीराम लेखेका छन् ।
यति मात्र होइन, उनीहरुले ती युवकलाई आफ्नो संगठन र भारतको समर्थनमा नारा लगाउन लगाएका छन् भने प्रधानमन्त्री ओलीको विरुद्ध नाराबाजी गर्न पनि लगाएका छन् । विश्व हिन्दू सेनाले यस घटनाको भिडियो बनाएर र सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
भारतीय संचार मध्यमका अनुसार उक्त भिडियो भाइरल भएपछि प्रहरीले संगठनका अध्यक्ष र उक्त कार्यमा संलग्नहरुविरुद्ध एफआईआर दर्ता गरेर पक्राउ गर्न खोजी सुरु गरेको छ । ती नेपाली युवकको परिचय भने भारतीय सञ्चारमाध्यममा खुलाइएको छैन ।
२ साउन २०७७, शुक्रवार ०७:५३ बजे प्रकाशित































